पूर्वाधार वाच, ललितपुर ।
ललितपुरस्थित भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनामा नयाँ सहयोग समिति चयन भएको छ । शुक्रबार ‘भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति’का नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण र प्रमाणपत्र वितरण समेत गरिएको निर्वाचन समिति संयोजक घनश्याम पौडेलले जानकारी दिए ।

अत्यन्त न्यून स्रोत साधनको प्रयोग गर्दै सौहार्दपूर्ण रूपमा सहयोग समिति चयन भएको संयोजक पौडेल खुशी व्यक्त गर्छन् ।
‘हरेक पूर्वाधार आयोजना जनताको जीवनसँग प्रत्यक्ष जोडिएका हुन्छन् । स्थानीयको अपनत्वबिना यस्ता आयोजना सफल हुँदैनन् ।’, उनी भन्छन्, ‘नयाँ सहयाेग कार्यसमिति चयनले अब भेल्पा हात्ती वनको विकासले फड्को मार्छ । नयाँ निर्वाचित कार्यसमितिमार्फत् नागरिकलाई पनि जबाफदेही बनाउन सकिन्छ ।’
शपथ ग्रहण एवं प्रमाणपत्र वितरण समारोहमा सहभागी अधिकांश स्थानीय उत्साहित देखिए । कार्यक्रमको प्रमुख अतिथि रहेका पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थित वस्ती विकासको योजनामा आफू हमेशा स्थानीयको साथमा रहेको प्रतिक्रिया दिए ।
यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत ललितपुरका जिल्ला आयुक्त सफल श्रेष्ठ नयाँ सहयोग समितिसँग समन्वय गरी आयोजना सफल बनाउन लागि पर्ने बताउँछन् ।
नवनिर्वाचित अध्यक्ष माधव बन्जाराले आफू नयाँ उत्साहका साथ आएको बताए। ‘विगतमा विभिन्न समस्याहरू थिए, आयोजना प्रमुखको नियमित सरुवा हुने, जनताको कुराको उचित सुनुवाइ नहुने लगायतका समस्या थिए । अब व्यवस्थित वस्ती निर्माणका लागि हामी लाग्छौं ।’, उनले भने ।
अबको २ देखि ३ वर्षभित्र आयोजना सम्पन्न गराउने गरी आफूहरु लागिपर्ने समेत उनी बताउँछन् । तीन वर्षमा सम्पन्न भइसक्नुपर्ने उक्त जग्गा एकीकरण आयोजना १० वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन ।
जग्गा एकीकरण आयोजना क्षेत्रका कयौंले अझै धनी पुर्जा नपाएको, खोलाको सीमांकनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या देखिएका छन्।
कूल ४६१ दशमलव ६१ रोपनी फैलिएको यस निर्माणाधीन आयोजनामा ९६५ जग्गा धनी रहेका छन् । विगतमा अव्यवस्थित रहेको उक्त स्थानमा हाल आयोजना सञ्चालनपछि व्यवस्थित बन्दै गएको छ ।
सहयोग समिति गठनले भेल्पावासीमा नयाँ आशा पलाएकाे छ । यद्यपि स्थानीयको यो आशा भने सहयोग समिति र आयोजनाबीचको सहकार्य र प्राप्त परिणामले मात्र भराेसामा परिणत हुन सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्