पूर्वाधार वाच, काठमाडौं ।
युनेस्कोको नयाँ प्रतिवेदनले सन् २०२२/२३ मा विश्वभर हरेक चार दिनमा एक पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक गरेको छ । युनेस्कोद्वारा जारी गरिएको एक प्रतिवेदनअनुसार, पछिल्ला दुई वर्षको तुलनामा सन् २०२२/२३ मा पत्रकारहरूको हत्याको घटनामा ३८ प्रतिशतले वृद्धि भएको छ भने प्रायः घटनामा अपराधीहरूलाई सजाय पनि दिइएको छैन।
प्रतिवेदनअनुसार, काम गरिरहेको समयमा १६२ जना पत्रकारले आफ्नो ज्यान गुमाएका छन्। युनेस्कोकी महानिर्देशक अड्री अजुले भन्छिन्, ‘सन् २०२२/२०२३ मा, हरेक चार दिनमा एक पत्रकारलाई केवल आफ्नो काम गरिरहेकै कारण ज्यान गुमाउनु परेको छ।’
कहाँ भए सबैभन्दा धेरै हत्या ?
पत्रकारहरूको हत्या हुने घटनामा मेक्सिको शीर्ष स्थानमा छ, जहाँ २०२२ मा १९ पत्रकारको हत्या भएको थियो, र २०२३ मा प्यालेस्टिनी क्षेत्रहरूमा २४ पत्रकारलाई मारिएको थियो।
यस्तै सबैभन्दा धेरै हत्या ल्याटिन अमेरिका र क्यारिबियन देशहरूमा भएको थियो, जहाँ दुई वर्षमा ६१ पत्रकार मारिएका छन्। जबकि उत्तरी अमेरिका र पश्चिमी युरोप सबैभन्दा कम खतरनाक क्षेत्र थिए, जहाँ ६ जना पत्रकारको हत्या भएको थियो।
सन् २०२२/२३ मा मारिएका पत्रकारहरूमा १४ जना महिला पनि थिए, र कम्तीमा पाँच जना पत्रकारहरू १५ देखि २४ वर्ष उमेर समूहका थिए। मारिएका अधिकांश पत्रकारहरू द्वन्द्व चलिरहेका क्षेत्रमा रहेका थिए। यस्ता क्षेत्रमा ४४ हत्या भएका थिए, जुन त्यस वर्षको कुल संख्याको ५९ प्रतिशत थियो।
के थिए हत्याका कारण ?
प्रतिवेदनमा उल्लेख भए अनुसार अधिकांश पत्रकारहरूलाई संगठित अपराध वा भ्रष्टाचारका विषयमा रिपोर्टिङ गरिरहेका वा विरोध प्रदर्शनहरूको रिपोर्टिङमा संलग्न भएकै कारण मारिएका छन् ।
ल्याटिन अमेरिका र क्यारिबियन देशहरूका साथै अरब देशहरूलाई पनि पत्रकारहरूको लागि सबैभन्दा खतरनाक क्षेत्रको श्रेणीमा राखिएको छ।
घटनामा संलग्नलाई हुँदैन सजाय
प्रतिवेदनले देखाएको छ कि हत्यासँग सम्बन्धित अधिकांश घटनाका दोषीलाई सजाय नै भएको छैन। धेरै देशहरूले युनेस्कोलाई दिएको जवाफअनुसार, सन् २००६ देखि ८५ प्रतिशत मुद्दा या त समाधान नभएका छन् वा छोडिएका छन्।
महानिर्देशक अड्री अजुले भन्छिन्, ‘यस्ता अपराधहरूका लागि पक्कै पनि सजाय हुनुपर्छ, तर ८५ प्रतिशत मुद्दाहरूमा यस्तै अवस्था छ।’ युनेस्कोको द्विवार्षिक प्रतिवेदनले विश्वभरका पत्रकारहरूको सुरक्षाको अवस्थाको विश्लेषण गर्छ।
यसले पत्रकारहरूको हत्या भएका घटनामा सजाय नपाएको विरुद्ध वार्षिक प्रचार अभियान चलाउँछ। यस वर्ष यो अभियान ६ नोभेम्बरमा इथियोपियाको राजधानी आदिस अबाबामा आयोजना गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्