images
images
images

हिन्दु आस्थाको पर्व: छठ

images

मुकुन्द प्रसाद भट्टाराई 

सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ ।

नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिली सिंगारिन्छन् ।

त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । भनिन्छ नेपालको मध्य र पूर्वी तराईको सांस्कृतिक पर्व नै छठ हो भने पहाडि समुदायले समेत उत्तिकै उत्साह एवं भक्तिका साथ यो पर्व मनाउन थालेको छ ।

छठ पर्व मनाउनुका पछाडि अनेक पौराणिक तथा लोक कथाहरू छन् । यसको पछाडि एउटा लामो इतिहास छ । सूर्य उपासनाको परम्परा वैदिक कालदेखि रहेको छ जहाँ सूर्यलाई प्रत्यक्ष देवता स्वीकार गरिएको छ ।

जनश्रुति अनुसार जुवामा राजपाट हारेपछि पाण्डव आफ्नी पत्नी द्रौपदीसँग वन९वन भौतारिएर हिँडिरहेका थिए । पाण्डवहरूको दुःखको कारण दुःखी द्रौपदीले राज्यको प्राप्ति सँग सुख समृद्धि तथा शान्तिको लागि कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा भगवान् सूर्य नारायणको उपासना गरेकी थिइन ।

द्रौपदीको श्रद्धा तथा भक्तिबाट प्रभावित भएर भगवान् श्री सूर्यले मनोवान्छित फल प्रदान गर्नु भएकोले त्यसैबाट पाण्डवहरूले आफ्नो हराएको राजपाठ प्राप्त गरेको हुन भनिन्छ ।

फेरि अर्को कथा अनुसार मगधका राजा जरासन्घको पूर्वजलाई कुष्ठरोग लागेको थियो । उनलाई कुष्ठरोग ठीक गर्नका लागि शाकलद्वीपबाट ब्राह्मणलाई बोलाइएको र उनले सूर्यको उपासनाद्धारा कुष्ठरोग ठीक गरेको भन्ने भनाइ छ । त्यसैबाट आकर्षित भई मगधका नागरिकले छठ पर्व मनाउन लागेका मानिन्छ ।

भनिन्छ कि मगधबाट नै सर्वप्रथम सूर्यको उपासना शुरु भयो । मग ब्राम्हणबाट आवृत्त भएको कारणले नै यो क्षेत्र मगध कहलिएको हो । यी मग ब्राह्मण सूर्यको उपासक थिए । सूर्यको किरणबाट उपचार गर्दा यिनीहरूलाई प्रशस्त सफलता मिल्यो । त्यसैले पूरा निष्ठा एवं नियमपूर्वक चार दिवसीय सूर्यको व्रतको उपासनाका रूपमा छठ पर्वको परम्परा प्रचलित भयो र समृद्ध समेत हुँदै गयो भन्ने भनाई छ ।

एउटा जनश्रुति यो पनि छ कि भगवान् शिवको वीर्यबाट उत्पन्न स्कंटको छ कृत्तिकाले एकै साथ आफ्नो दूध चुसाएर उसको प्राणको रक्षा गरेको थियो ।

त्यससमय स्कंटको छ वटा मुख भएको थियो । यो घटना जुन महिनामा घटेको थियो त्यस महिनाको नाम नै कार्तिक थियो । त्यसैले कृत्तिकाका छोरालाई दूध चुसाइएको कारण स्कंटको नाम कार्तिकेय रहेको हो । अतः छठीमैयाँको पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथीमा हुने गर्दछ । यो पर्व बच्चाको कष्ट निवारण एवं सुख समृद्धिका लागि गर्ने गरिन्छ ।

यसै सम्बन्धमा एक अर्को प्रसिद्ध कथा पनि छ । धेरै उमेर भै सक्दा पनि राजा प्रियव्रतका कोही सन्तान भएनन् । तब उनले कश्यप ऋषिद्वारा पुत्रेष्टि यज्ञ गराए । यज्ञपश्चात् रानी गर्भवती भइन् तर उनको गर्भबाट मृत पुत्र जन्मियो । यो देखेर रानी बेहोस भइन् । प्रिय व्रत मृत शिशुलाई लिएर मसानघाट गए, तर उनी त्यहाँ बौलाहाजस्ता भई प्रलाप गर्न लागे ।

त्यसै समयमा आकाशबाट एउटा ज्योतिर्मय विमान आयो । त्यस विमानमा एउटा देवी बसेकी थिइन् । राजा प्रियव्रतले पुत्रलाई पृथ्वीमा राखी तिनै देवीको स्तुति गर्न लागे । त्यसपछि देवीले भनिन् – “म ब्रम्हाको मानसपुत्री षष्ठी देवी हुँ । म सबै बालकको रक्षिका हु साथै अपुत्रोलाई पुत्र प्रदान गर्दछु ।

मेरो पिताले मेरो विवाह स्वामी कार्तिकेयसँग गरिदिनु भएको हो । म सबै मातृकामध्ये विख्यात स्कंदकी पत्नी हुँ । म मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएको कारण मलाई षष्ठी भन्दछन् । म पुत्र नहुनेको लागि पुत्र, धन नहुनेको लागी धन, रोगीलाई निरोगी, कर्म गर्नेको लागि कर्मको फल प्रदान गर्दछु” यति कुरा भनी देवीले मृत शिशुलाई स्पर्श गरेपछि शिशु जीवित भयो ।

प्रिय व्रतको प्रसन्नताको कुनै सीमै रहेन । उनले अनेक प्रकारले षष्ठी देवीको स्तुति गर्न लागे । राजाबाट भएको स्तुतिले प्रसन्न भएर देवीले भनिन् – ‘राजन ! तिमी यस्तो व्यवस्था गर ता कि सबै मानिसले मेरो पूजा गरुन्’ यति भनेर देवी अन्तध्र्यान भइन् । राजाले देवीको आज्ञा शिरोधार्य गरी राजाबाट व्यापक रूपमा प्रचार प्रसार गरि दिएपश्चात् यो पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवी या छठी देवीका व्रतको रूपमा सुरु हुन लाग्यो ।

यस पर्वमा भगवान् सूर्यको साथसाथै षष्ठी देवी या छठी देवीको समेत पूजा उपासना हुने गर्दछ । यो पर्व कार्तिक एवं चैत्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्थ्यो तर हाल चैत्र महिनामा मनाइएको थाहा पाइँदैन जसरी चैत्र महिनामा मनाइने चैते दशैजस्तै गरी हराइसकेको छ । यस पर्वको कुल अनुष्ठान चार दिनको हुन्छ । यस पर्व महिला एवं पुरुष दुवैले गर्दछन् तर विशेष गरी महिलाले धेरै गर्दछन् ।

यो पर्व चतुर्थी तिथिबाट प्रारम्भ हुन्छ र सप्तमी तिथिमा समाप्त हुन्छ । यस पर्वमा व्रतालु नियम निष्ठामा रहन्छन् । उनीहरू पवित्र जलाशयमा नुहाएर शुद्ध भोजन ग्रहण गर्दछन् । यसलाई स्थानीय भाषामा ‘नहा–खा’ या ‘नहाय–खाय’ भनिन्छ ।

अर्थात नुहाएर खाना खानु भनिएको हो । छठ पर्वको अघिल्लो दिन भएकाले व्रतालुहरू व्रत बसेर साँझ नुहाएपछि माटोको चुलो स्थापना गरी प्रसाद बनाउने परम्परा छ । प्रसादको रूपमा खीर र पिठोको रोटी शुद्ध घिउबाट बनाइएको मिठाई, ठेकुवा विभिन्न परिकार तथा मौसमी फलफूल आदि भगवान् सूर्यलाई भोग लगाई ग्रहण गरी आफ्नो उपवास समाप्त गर्दछन् ।

षष्ठी तिथि नै मूल पर्व हो । यस दिनमा उपवास राखिन्छ । व्रतालु सूर्य डुब्नुभन्दा एकाध घण्टा अघि नदी, पोखरी आदिको छेउमा बनाइएको घाटमा जान्छन् ।

ब्रतालु महिलाहरू नयाँ लुगा, गरगहना आदि लगाएर सजिसजाउ भै छठी माता एवं भगवान् सूर्यलाई लोकगीत गाएर आ–आफ्नो घरबाट बाहिर निस्कन्छन् । अर्घ दिनु अगाडिसम्म गीत गाई रहन्छन् । तत्पश्चात् पानीमा उभिएर डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् ।

पकाइएको मिष्ठान्न, फल बाँसको ढकीमा सजाएर सूर्यलाई अर्घ अर्पण गरिन्छ । अर्घमा मौसमी फल तथा पिठो र सख्खरबाट शुद्ध घिउमा बनाइएको ठेकुवा हुनु अनिवार्य छ ।

व्रतालुले नुहाएपछि चिसै कपडा लगाई डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् । केही ब्रतालुले नुहाएर अर्घमा दूध पनि चढाउँछन् । यो उनीहरूले मागेको कुरा पूर्ण भएको खुशीमा गर्दछन् । यसपछि सबै व्रतालु घर फर्कन्छन् ।

अर्को दिन बिहान ‘झिसमिसे मै’ पुनः नदी तलाउ पोखरीमा सबै व्रतालु पुग्दछन् र भगवान् सूर्यको उदाउने प्रतीक्षा गर्दछन् । उदाउँदो सूर्यलाई व्रतालुले नुहाएर पुनः अर्घ प्रदान गर्दछन् । अर्घ दिइसकेपछि सबै व्रतालु एक ठाउँमा बसी छठसँग सम्बन्धित कथा सुनाउने, सुन्ने गर्दछन् । यस दिन छठ पर्व समाप्त हुन्छ । अतः यस दिनलाई पारण भनिन्छ ।

यो पर्व नेपालको गाउँ र शहर काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमती, मनहरा, कमलपोखरी, जनकपुर, वीरगन्ज, विराटनगर लगायत नेपालका धेरै ठाउँमा मनाइन्छ ।

यो सम्पूर्ण नेपालीको साझा पर्वजस्तो भैसकेको छ । त्यसैगरी भारतको बिहार, पूर्वी उत्तर प्रदेश एवं झारखण्डका साथै मुम्बई, दिल्ली, पन्जाब लगायत अधिकांश ठाउँमा मनाउने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्