पूर्वाधार वाच, काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो ।
युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएका उर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ ।
उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे । उनले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेस भइसकेकाले चाँडो पारित हुने बताए ।
भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन् ।
उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसासमेत गरिन् । राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताइन् ।
अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्