images
images
images

उर्जामन्त्री खड्काद्वारा भारतीय समकक्षी खट्टरलाई स्वागत

images

पूर्वाधार वाच, काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतका समकक्षी मनोहरलाल खट्टरलाई स्वागत गर्नुभएको छ ।

उर्जामन्त्री खड्काको निमन्त्रणामा आज विहान काठमाडौँ आइपुग्नुभएका भारतीय मन्त्री खट्टरलाई मन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्नुभएको हो ।

स्वागतपछि उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरसहितको टोली भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न संखुवासभा प्रस्थान गर्नुभएको छ ।

संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजना ९०० मेगावाटको रहेको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

भारतीय विद्युतमन्त्री खट्टर आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।

भारतका विद्युतमन्त्री खट्टरले भोलि विहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता देवले बताउनुभयो ।

पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्