पूर्वाधार वाच, दाङ।
तुलसीपुर उपमहानगरपालिका–१२ को लामिडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्रे भएपछि आवतजावतमा निकै सहज भएको छ ।
‘पहिले हिलै हिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो’, स्थानीय नन्दकुमार पुनले भने ‘अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।’
कालोपत्रे नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलै धुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताए।
“सुकाएका कपडामा पनि धुलै धुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उनले भने । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्रे भएको हो ।
त्यसै गरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यति मात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको स्थानीय डिला केसीले बताए ।
‘वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो’, उनले भने, ‘तर अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको छ ।’ जहाँ साढे तीन सय मिटर सडक कालोपत्रे भएको हो ।
यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए।
उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्रे गरिएको बताए । ‘सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्रे गर्ने काम गरिरहेका छौँ’, उनले भने, ‘यसले निकै सहज बनाएको छ ।’
यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए । आवश्यकताअनुसार नयाँ ट्र्याक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्