images
images
images

समाजवादको बाटो जलस्रोतमै छ: मन्त्री खड्का भन्छन्– अब गरिब पनि पुँजीमा साझेदार

images

पूर्वाधार वाच, संखुवासभा ।

“म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।”

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिनु भयो।

कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो। “यो सरकार चल्छ, एक वर्ष सम्माननीय केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताले अपेक्षा गरेको काम गर्छ,” उहाँले भन्नुभयो।

संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो। उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो।

“अरुण तेस्रो आयोजनाबाट ९०० मेगावाट विद्युत उत्पादन हुनेछ, जसमा २०० मेगावाट नेपालले पाउँछ। अपर अरुण पनि अगाडि बढिसकेको छ,” उहाँले जानकारी गराउनु भयो। साथै, स्थानीय घरधुरीहरूलाई शेयर दिने तयारी भइरहेको भन्दै उहाँले विपी कोइरालाको समाजवादी मार्गदर्शनअनुसार गरिबलाई धनी बनाउने नीति कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो।

मन्त्री खड्काले सिचाइ क्षेत्रमा रोकिएका कामहरूलाई अघि बढाउने प्रयास भइरहेको भन्दै, ‘किमाथान्का’ मा पुल, भन्सार नाका लगायत पूर्वाधार निर्माणमा भारत र चीन दुबै देशसँग सहकार्य गरिने बताउनुभयो।

नीतिगत क्षेत्रको प्रगति उल्लेख गर्दै मन्त्री खड्काले जलस्रोत र विद्युत् सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भई विपद् सूचनालाई वडा वडा सम्म पुर्‍याउने प्रणाली लागू भइसकेको जानकारी दिनुभयो। “मेरो पालामा बंगलादेशमा ४० मेगावाट विद्युत् बेचिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,” उहाँले तथ्य प्रस्तुत गर्नुभयो।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सिचाइ सचिव सरिता दवाडीले “चार जिल्लामा सेवा पुर्‍याउने यो कार्यालय मन्त्रीज्यूको दृढताका कारण स्थापना भएको हो,” भन्दै यसले स्थानीय विकासमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो।

सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले “संघीय सरकार अन्तर्गतको आयोजना खुल्नु आफैमा चारै जिल्लाका लागि ठुलो उपलब्धि हो,” भनेका थिए।

स्थानिय जनप्रतिनिधिहरूले पनि मन्त्री खड्काको नेतृत्वमा जिल्लामा ठूलो बजेट भित्रिएकोमा आभार व्यक्त गरे। खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले “५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिन्छु” भनेका थिए। पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्री खड्कालाई “हाम्रो लागि भगवानसरह नेता” भन्दै प्रशंसा गरे।

संघीय संरचनाअनुसार सशक्त सेवा दिन स्थापना गरिएको ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ ले पूर्वी पहाडी जिल्लाहरूमा जलस्रोतको समुचित उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि र समृद्धिमा टेवा पुर्‍याउने आयोजना प्रमुख धिराज लम्सालले बताउनु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्