पूर्वाधार वाच, बाजुरा ।
ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे मना गाउँका बासिन्दाको लागि वरदान सावित बनेको हो ।
भौगोलिक रूपमा विकट र भिरालो क्षेत्रमा अवस्थित मना गाउँका स्थानीयको लागि रोपवेले ठूलो सहयोग गर्दै आएको छ । गाउँका स्थानीयको सरसामान ओसारपसार गर्न ग्राभिटि रोपवे उनीहरुको लागी वरदान सावित बन्न पुगेको हो ।
रोपवे नबन्नु अघिसम्म झन्डै तीन घण्टा उकालो बाटो पार गरेर उपभोग्य सामग्री पिठ्युँमा बोकेर लिनुपर्ने बाध्यता रोपवे बनेपछी सहज बनेको हो ।

युरोपेली युनियन,प्राक्टिकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राक्टिकल एक्सन र मानव संसाधन केन्द्र बाजुराको साझेदारीमा निर्माण गरिएको बडिमालिका ग्राभिटि रोपवेबाट हाल दैनिक उपभोग्य सामग्री सहज ओसार पसार भइरहेको छ ।
बडिमालिका नगरपालिका–४ तिपाडा हाट बजारबाट बडिमालिका–५ मना स्टेसनलाई रोपवेले जोडेको छ । करिब ८ सय ९ मिटर लम्बाइ रहेको यो रोपवेको भिरालोपन ३४ डिग्री रहेको छ ।
सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भारवहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ ।
एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन् ।

पहिले भिरालो उकालो बाटोमा तीन घण्टा हिँडेर सामान बोक्थ्यौँ, अहिले रोपवेले त्यो सबै समस्या हटाइ दिएको साउँदको बताए । रोपवे हरेक बुधवार सञ्चालनमा आउने गरेको अपरेटर दिलु साउदले बताएका छन् ।
कुल २६ लाख ५६ हजारमा निर्माण गरिएको उक्त रोपवेले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता प्रदान गर्नुका साथै समय र श्रमको बचतका साथै बडिमालिका नगरपालिका–५ मनाका लागि विकासको प्रतिक बन्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्