images
images
images

बेनी-दरवाङ सडक अवरुद्ध

images

पूर्वाधार वाच, म्याग्दी ।

म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो ।

सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको छ । निर्माणाधिन जलविद्युत्, प्रशारण लाइन, सवस्टेशन, सडक, भवनलगायतका विकास आयोजनाहरु प्रभावित भएका छन् ।

विंस २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो । तत्कालीन जिविसले एशियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो । सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

“लाम्पाटामा सडकमाथिको पाखो थप चर्किएकाले जुनसुकै बखत ठूलो पहिरो खस्ने जोखिम छ,” उहाँले भन्नुभयो “दरवाङ जान आउनका लागि हलुका सवारी साधनका लागि माटेबगर–पोक– पिपलबोट–छिसवाङ–खोप्टी– छ्यारछ्यारे–दरवाङ जोड्ने वैकल्पिक सडकको व्यवस्था मिलाएका छौ ।”

अध्यक्ष रोकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर– डौडेखोला– रसपुर–अल्काचौर–लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गर्नुभएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले अपराहन्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताउनुभयो ।

पहिरो पन्छाउने डोजर पर्वतको मिलनचोकबाट टेलरमा राखेर लैजानुपर्ने भएकाले ढिलाइ भएको उहाँले बताउनुभयो । म्याग्दी १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली आफै पहिरो स्थलमा पुगेर सडक खुलाउन पूर्वाधार विकास कार्यालयसँग समन्वय गर्नुभएको छ ।

बेनीदेखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ । पहिरोले सडक साघुरिदाँ ठूला सवारी साधन आवत जावतमा समस्या भएपछि फराकिलो पारिएको हो ।

फापरखेत, लाम्पाटा र बाङ्गेपहिरो २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको चुनौति तबनेका छन् । यो सडक गण्डकी प्रदेश सरकारमार्फत स्तरोन्नति चरणमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्