पूर्वाधार वाच, पाँचथर ।
पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू(टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू-भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू-टावर निर्माण गरेका हुन् ।
व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू-टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गरे ।
खेवाङको ९७औं जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका-६ को कार्यालय र स्थानीयवासीले भ्यू-टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए । खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक-६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले बताए ।
खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले बताए ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताए।
“उहाँले गाउँका हरेक क्षेत्रका योगदान दिनुभएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भने, “उहाँको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।” खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त भएका छन् ।
विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मेका खेवाङको परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना भएका थिए । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आएका छन् ।
खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उनको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भने, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ (परेवाडाँडा)मै बस्ने सहज लागेर बसेको हुँ ।”
आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उनको भनाइ छ । खेवाङले भने, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।”
भ्यू-टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल-भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिने स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्