images
images
images

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्रे

images

फाइल तस्बिर

पूर्वाधार वाच, भोजपुर ।

भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ ।

भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङ्देखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ्–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको बताए । सङ्घीय समपुरक अन्तरगत गाउँपालिकाको बजेटमा सडक कालोपत्र गरिएको उहाँको भनाइ छ ।

‘यो सडक खण्डको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ,’ उनले भने, ‘यस आर्थिक वर्षमा थप कालोपत्रका लागि पनि बोलपत्र आह्वान भइसकेको छ ।’

गाउँपालिकाका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइएको बताए। यो सडक भोजपुरबासीलाई तराईका जिल्लासँग जोड्ने छोटोमार्ग भएकाले प्राथमिकताका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ ।

‘यो हाम्रो गाउँपालिकाको गौरवको आयोजना हो,’ अध्यक्ष राईले भने, ‘ यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । हाल तीन किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्र गर्ने हाम्रो लक्ष्य छ । गाउँपालिकाको सीमित बजेटमा पनि दुई वर्षअघिबाट निरन्तर कालोपत्रको काम गरिरहेका छौँ ।’

सडक कालोपत्रपछि स्थानीयमा उत्साह बढेको वडा नं ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताउनुभयो । सडक कालोपत्र बनेपछि आवतजावतमा सहजता भएको उहाँको भनाइ छ ।

‘तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्र होला भन्ने हामीलाई लागेको थिएन,’ उनले भने, ‘अहिले सडक कालोपत्र बन्दा खुसी लागेको छ । आवतजावत सहज बनेको छ । हामी निकै खुसी छौँ ।’

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्राविधिमा निर्माण भइरहेको छ । नालीसहितको आठ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । यो सडकले पौवादुङमाका छमध्ये पाँच वटा वडालाई समेटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्