पूर्वाधार वाच, हेटौंडा ।
२५/२५ मिटर सडक विस्तारको तयारी स्वरूप डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा–९ क्षेत्रमा सडक नापजाँच तथा रेखाङ्कन गर्ने कार्य अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ ।
मास्टरचोकबाट कर्रा पुलसम्मको क्षेत्रमा हिजो बिहान सुरु गरिएको रेखाङ्कन कार्यलाई स्थानीयले रोक्का लगाएका थिए । उनीहरूले क्षतिपूर्ति बिना संरचना हटाउन नहुने, पुरानो नक्साअनुसार सडक पुनस्र्थापना हुनुपर्ने, तथा सडक नापजाँच अघि स्पष्ट मुब्जा (मोहडा) नदिइएको भन्दै आपत्ति जनाए ।
स्थानीय बासिन्दाहरूले आफूहरू ‘विकास विरोधी होइन’ तर वैधानिक प्रक्रिया र क्षतिपूर्तिको व्यवस्था नगरी घर–व्यवसायमा धावा बोल्न नदिने बताए । उनीहरूका अनुसार सडक विस्तारका नाममा पछिल्ला वर्षमा पटक–पटक नक्सा परिवर्तन गरिएको आरोप पनि छ ।
अवरोधपछि सडक डिभिजन कार्यालयका प्राविधिक तथा प्रशासनका प्रतिनिधि र स्थानीयबीच अस्थायी छलफल भएको भए पनि नापजाँच र रेखाङ्कन कार्य भने अघि बढ्न सकेन ।
यसअघि सडक विस्तार टास्कफोर्स फिल्डमा आएपछि हेटौंडाका सडकछेउका बासिन्दाले आफूहरूलाई उचित क्षतिपूर्ति र विकल्पबिना संरचना भत्काउन बाध्य पारिएको गुनासो गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौंडाले अतिक्रमित स्थायी तथा अस्थायी संरचना हटाउने पूर्वतयारीका रूपमा बिहीबारदेखि रेखाङ्कन र रंग लगाउने काम सुरु गरेको थियो। तर स्थानीय अवरोध बढेपछि प्रशासन र सडक डिभिजनले परिस्थितिको पुनर्मूल्यांकन गर्दै काम स्थगित गर्नुपरेको हो ।
सडक डिभिजनले भने आगामी दिनमा सबै पक्षसँग सहमति जुटाएर पुनः नापजाँच अघि बढाउने तयारी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्