images
images
images

मानसिक स्वास्थ्य जोखिम बढ्दै, योग–ध्यानमा जोड दिन मन्त्री डा. गौतमको आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जोखिम तीव्र रूपमा बढिरहेको बताउँदै यसको न्यूनिकरणका लागि नियमित मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैलीलाई पनि अपनाउन आवश्यक रहेको धारणा राख्नुभएको छ।

काठमाडौंमा आजदेखि शुरू भएको तरङ्गीनि फाउण्डेशनद्वारा आयोजित दुई दिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री डा. गौतमले मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि योग, ध्यान र अनुशासित जीवनपद्धतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँका अनुसार मानसिक स्वास्थ्य समस्याका कारण प्रत्येक वर्ष सात हजारभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने तथ्याङ्कले यो क्षेत्रमा सरकार, समुदाय र परिवारको साझा जिम्मेवारी आवश्यक रहेको स्पष्ट हुन्छ। “तनाव, बेचैनी, एक्लोपन तथा आफ्ना भावनाहरू व्यक्त गर्न नपाउने वातावरणका कारण मानिसको आत्मविश्वास कमजोर हुँदै गएको छ,” उहाँले भन्नुभयो, “आत्मविश्वास घटेपछि गलत कदम चाल्ने जोखिम बढ्छ, त्यसैले सकारात्मक सोच निर्माणमा सबैको सहयोग अपरिहार्य छ।”

मन्त्री डा. गौतमले जिम्मेवारी सम्हालेयतै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा व्यवस्थापनस्तरमा आवश्यक सुधार सुरू गरेको उल्लेख गर्नुभयो। स्वास्थ्य संस्थाहरूमा मनोपरामर्श सहायता कक्ष स्थापना, ‘टेलिभेडिसिन’ मार्फत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई समेत परामर्श सुविधा दिन सुरू गरिएको जानकारी उहाँले दिनुभयो।

नेपालमा मनोपरामर्श सेवा दिने व्यक्ति र संस्थाको संख्या बढ्दै गएको भए पनि सरकारी संरचनामा आवश्यक दरबन्दी अभावका कारण दक्ष जनशक्तिको प्रभावकारी उपयोग हुन नसकेको मन्त्री गौतमले बताउनुभयो। उहाँका अनुसार जनशक्ति व्यवस्थापन, स्वास्थ्य शिक्षा तथा सूचना प्रसार, र मानसिक स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्न दीर्घकालीन नीतिगत सुधारका काम अघि बढाइएका छन्।

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. पुष्पराज शर्मा, मनोपरामर्शदाता सुनिता श्रेष्ठलगायतले सामुदायिक मानसिक स्वास्थ्यका चुनौती, अवस्था र समाधानबारे धारणा राख्नुभएको थियो। सम्मेलनमा दुई दिनसम्म मानसिक स्वास्थ्यका कारण, चुनौती, उपचार प्रणाली र सुधार उपायबारे विस्तृत छलफल हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्