पूर्वाधार वाच, काठमाडौं।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज आफ्नो बाह्रौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ। यसअनुसार कुल २१.०५ प्रतिशत लाभांश शेयरधनीहरूलाई प्रदान गरिनेछ।
सभामा अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफलपछि पारित गरिएको छ। साथै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू पनि साधारणसभाबाट स्वीकृत भएका छन्।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत गरिएको छ।
हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनामार्फत नियमित रूपमा विद्युत उत्पादन गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्