images
images
images

दुई मोटरेबल पक्की पुल निर्माणको काम ५ वर्षदेखि अलपत्र

images

फाइल तस्बिर

गोदावरी । कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन् ।

गौरीगङ्गा–५ र ८ बालुवाटार जोड्ने कटैनी खोला तथा वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुलको काम अलपत्र परेको हो । विसं २०७७ असार ३१ गते पूर्वाधार विकास कार्यालयले वाइपी कन्स्ट्रक्सन काठमाडौँसँग तीन वर्षमा सम्पन्न गर्ने गरी दुई मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

कटैनी खोलाको पुलका लागि रु पाँच करोड २८ लाख र चौमाला खोलाको पुल निर्माणका लागि रु सात करोड २३ लाख ८० हजारको लागतमा सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीले हालसम्म कटैनी पुलका लागि रु तीन करोड ८४ लाख र चौमाला पुलका लागि रु दुई करोड ५९ लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

तीन वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अघि बढ्न नसेपछि ठेकेदार कम्पनीले म्याद थप्दै आएको जनाइएको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यप्रकाश जोशीका अनुसार कटैनी खोलाको पुलका लागि २०८२ साल मङ्सिरसम्म र चौमाला पुलका लागि २०८३ साल असारसम्म म्याद थपिएको भए पनि हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन् ।

चौमाला खोलामा निर्माणाधीन पुलको समयावधि बाँकी रहेको भए पनि कटैनी खोलाको पुलको समयावधि मङ्सिरमा समाप्त भएपछि ठेकेदार कम्पनीले पुनः म्याद थपका लागि पूर्वाधार विकास कार्यालयमा निवेदन दिएको जोशीको भनाइ छ ।

पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्न स्थानीयवासीले समस्या झेल्दै आउनु परेको स्थानीय सागर थापाले बताए । खोलामा पानी बढेपछि स्थानीयले काठको अस्थायी पुल बनाएर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

उक्त दुई पुल नबन्दा वर्षायाममा तीन किलोमिटर वैकल्पिक बाटो प्रयोग गरेर नगरपालिका पुग्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको थापाले बताए । प्रदेश सरकार र निर्माण कम्पनीको लापरबाहीले पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्