पूर्वाधार वाच, काठमाडौं।
ईङवा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को १६औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन कम्पनीको १६औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको हो।
कम्पनी स्थापना र गतिविधि
प्रतिवेदनअनुसार ईङवा हाइड्रोपावर लिमिटेड वि.सं. २०६६ साल असार ९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा निजी कम्पनीका रूपमा दर्ता भई वि.सं. २०७१ साल भदौ ९ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनी हाल जलविद्युत उत्पादन, प्रसारण तथा व्यवस्थापन क्षेत्रमा सक्रिय रूपमा संलग्न छ।
पूँजी संरचना
कम्पनीको अधिकृत पूँजी ९७ करोड रुपैयाँ रहेको छ, जुन प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ। त्यस्तै, जारी पूँजी ६० करोड रुपैयाँ तथा चुक्ता पूँजी पनि ६० करोड रुपैयाँ रहेको छ, जुन ६० लाख कित्ता साधारण सेयरमार्फत प्रतिनिधित्व गरिएको छ।
सेयर निष्कासन र नेप्सेमा सूचीकरण
ईङवा हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले साधारण सेयर निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। कम्पनीका सेयरहरू मिति २०८०/०३/०३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका थिए। सूचीकरणपश्चात सेयरको कारोबार मूल्य न्यूनतम २०२ रुपैयाँदेखि अधिकतम ८३८ रुपैयाँसम्म पुगेको विवरण प्रतिवेदनमा उल्लेख छ।
विशेष प्रस्ताव र सञ्चालक समितिलाई अख्तियारी
भव्य रूपमा सम्पन्न साधारणसभाले विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा कम्पनी रजिष्ट्रारको कार्यालयलगायत सम्बन्धित नियमनकारी निकायहरूसँग आवश्यक समन्वय र कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।
वित्तीय अवस्था सन्तोषजनक
कम्पनीका लेखापरीक्षकको प्रतिवेदनअनुसार सेयर पूँजी, सञ्चित नाफा तथा दीर्घकालीन ऋणसम्बन्धी विवरण वित्तीय विवरणमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। समग्रमा कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ।
आगामी योजना र प्रतिबद्धता
अध्यक्षको मन्तव्यमा कम्पनीले आयोजना निर्माण समयमै सम्पन्न गरी नियमित रूपमा विद्युत उत्पादन गरिरहेको, शेयरधनीलाई दीर्घकालीन प्रतिफल उपलब्ध गराउन प्रतिबद्ध रहेको तथा भविष्यमा थप जलविद्युत आयोजनामा लगानी विस्तार गर्ने रणनीति अघि बढाएको उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्