images
images
images

नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औं साधारणसभा सम्पन्न, ऊर्जा सुरक्षाका लागि सौर्य ऊर्जामा जोड दिन मन्त्री घिसिङको आह्वान

images

पूर्वाधार वाच, काठमाडौं।

मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघ (सेमान) को २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशभर सौर्य ऊर्जाको प्रयोग क्रमशः विस्तार हुँदै गएको उल्लेख गर्नुभयो। ऊर्जा सुरक्षालाई दिगो बनाउन जलविद्युत्सँगै सौर्य ऊर्जालाई समानान्तर रूपमा विकास गर्नुपर्ने उहाँले जोड दिनुभयो।

आयात निर्भरता घटाउने सम्भावना

मन्त्री घिसिङका अनुसार सौर्य ऊर्जा अहिले राष्ट्रिय प्रसारण ग्रिडमा समेत जडान हुन थालेको छ। स्वदेशमै सौर्य ऊर्जा उत्पादन विस्तार गर्न सके आयातित विद्युत्माथिको निर्भरता उल्लेखनीय रूपमा घटाउन सकिने उहाँले बताउनुभयो।

सिँचाइ नहर र पहाडी भूभागमा सौर्य सम्भावना

सरकारले सिँचाइ नहरमाथि सौर्य प्यानल जडान गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री घिसिङले यस मोडेलले जमिनको बचत गर्नुका साथै पानीको वाष्पीकरण कम गर्ने फाइदा हुने उल्लेख गर्नुभयो। साथै, पहाडी तथा हिमाली भूभागको सदुपयोग गर्दै सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै उहाँले भारतमा हाल एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको उदाहरण प्रस्तुत गर्नुभयो।

क्षेत्रीय ऊर्जा आपूर्तिकर्ता बन्ने लक्ष्य

मन्त्री घिसिङले भारततर्फ १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्यसहित प्रसारण लाइन निर्माण कार्य अगाडि बढिरहेको जानकारी गराउँदै दीर्घकालमा नेपाललाई क्षेत्रीय ऊर्जा आपूर्तिकर्ताको रूपमा स्थापित गर्ने सरकारको दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो।

नीतिगत प्राथमिकतामा नवीकरणीय ऊर्जा

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण केही मौसममा नदी–खोलाहरू सुक्दै जाँदा जलविद्युत् उत्पादन प्रभावित भइरहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थालाई सम्बोधन गर्न १६औँ पञ्चवर्षीय योजनाले सौर्य ऊर्जासहित नवीकरणीय ऊर्जाको विविधीकरणलाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो।

पूर्ण विद्युतिकरणको सरकारी लक्ष्य

ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले आगामी दुई वर्षभित्र देशभर पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार शहरी क्षेत्रसँगै दुर्गम बस्तीहरूमा पनि भरपर्दो ऊर्जा पहुँच सुनिश्चित गरिनेछ।

सौर्य क्षेत्रमा सहकार्य र निजी क्षेत्रको भूमिका

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले सेवा नपुगेका क्षेत्रहरूमा सौर्य समाधान विस्तार गर्न सेमानले एइपिसीसँग सहकार्य गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र व्यावसायिक रूपमा अघि बढाउन निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्