पूर्वाधार वाच, काठमाडौं।
चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा (एजीएम) २०८२ पौष २३ गते काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा सफलतापूर्वक सम्पन्न गरेको छ। सभामा सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित
कम्पनीका अध्यक्षको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ।


१:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत
सभाले कम्पनीको हालको चुक्ता पुँजी ४० करोड रुपैयाँलाई आधार मानी १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ। साथै, पुँजी संरचना संशोधन, प्रबन्धपत्र तथा नियमावली संशोधन, कर्जा भुक्तानी तथा आगामी आयोजनामा लगानी गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि पारित गरिएका छन्।
विद्युत उत्पादन र आम्दानीको अवस्था
अध्यक्षले मन्तव्यका क्रममा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजीको अवस्थाबारे जानकारी दिँदै जारी पुँजीको १०० प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको स्पष्ट पार्नुभयो। आर्थिक वर्ष २०८०/०८१ को अन्त्यतिर चिरख्वा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जडान भई व्यावसायिक उत्पादन सुरु भएको जानकारी दिइयो। ट्रान्समिसन लाइनमा आएको प्राविधिक समस्या र ट्रिपिङका कारण केही समय उत्पादन अवरुद्ध भए पनि हाल अवस्था सुधार हुँदै गएको उल्लेख गरिएको छ।
चालू आर्थिक वर्षको प्रगति
आर्थिक वर्ष २०८१/०८२ मा आयोजनाबाट उत्पादित विद्युत् बिक्रीमार्फत कम्पनीले नियमित आम्दानी गरिरहेको विवरण सभामा प्रस्तुत गरिएको छ। विशेषगरी श्रावण, भदौ र आश्विन महिनामा लक्ष्यअनुसार विद्युत् उत्पादन तथा आम्दानी भएको तथ्यांक सेयरधनीहरूमाझ जानकारी गराइएको थियो।
भविष्यका योजना र रणनीति
सभामा कम्पनीले आगामी दिनमा नयाँ जलविद्युत आयोजनाको पहिचान, अध्ययन तथा विकास गर्ने, सम्भाव्य आयोजनामा लगानी विस्तार गर्ने र उत्पादन क्षमता वृद्धि गर्दै सेयरधनीलाई दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने रणनीति अघि बढाउने लक्ष्य लिएको जानकारी गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्