पूर्वाधार वाच, काठमाडौं।
मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) सोमबार काठमाडौंको पुरानो बानेश्वरमा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा कम्पनीका अध्यक्ष भीमबहादुर पालको अध्यक्षतामा आयोजना गरिएको हो।
वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित
साधारणसभाले अध्यक्ष भीमबहादुर पालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, निर्वाचनसम्बन्धी प्रस्तावहरू पनि सभाबाट स्वीकृत भएका छन्।
नगद तथा बोनस सेयर वितरणको निर्णय
सभाले हाल कायम चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँको ०.७८९० प्रतिशतका दरले ५९ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै चुक्ता पूँजीको १५ प्रतिशत बराबरको ११ करोड २२ लाख ६० हजार रुपैयाँको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
आम्दानी र नाफाको अवस्था
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ३४ करोड ८० लाख ९ हजार ४४९ रुपैयाँ कूल आम्दानी गरेको जनाएको छ। यस अवधिमा कम्पनीको खुद नाफा १३ करोड २१ लाख ५४ हजार १७१ रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
नयाँ सञ्चालक समिति चयन
साधारणसभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति सदस्यहरू चयन गरेको छ। चयन भएका सञ्चालकहरूमा भीमबहादुर पाल, रमेशराज गौतम, प्रकृति गौतम, प्रदिपकुमार चालिसे तथा निशान्त लुनावट जैन रहेका छन्।
सेयरधनीका जिज्ञासा र आयोजनाको अवस्था
सभाका क्रममा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष पाल तथा कम्पनीका अन्य पदाधिकारीहरूले स्पष्ट जवाफ दिएका थिए। कम्पनीका अनुसार सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका क्षेत्र हुँदै बग्ने सोलु खोलामा जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। हाल कम्पनीको सेयर संरचनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयरधनीको स्वामित्व रहेको जानकारी पनि दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्