फाइल तस्बिर
गोरखा । गोरखाका २५ मतदानस्थल अझै सडक सञ्जालसँग जोडिएका छैनन् । जिल्लाका जम्मा २२५ मतदानस्थलमध्ये २०० मतदानस्थल भने सडक सञ्जालसँग जोडिएको छ ।
अधिकांश हिमालपारिका गाउँपालिका चुमनुब्री र केही धार्चेका मतदानस्थल सडक सञ्जालदेखि तीन दिन दूरी टाढा सम्मका रहेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका २४ र धार्चेका एक मतदानस्थल सडक सञ्जालसँग जोडिएका छैनन् ।
निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरु चुमनुब्री गाउँपालिकाका मतदानस्थल पुग्न कम्तीमा तीनदिन पैदल हिँड्नुपर्ने बाध्यता छ । सबैभन्दा टाढा चुमनुब्री–१ को साम्दो आधारभूत विद्यालय केन्द्र रहेको छ । त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री–३ पाङसिङबाट कम्तीमा तीन देखि चार दिनसम्म पैदल हिँड्नुपर्छ ।
सोही वडाको गौरीशङ्कर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ । वडा नं ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न तीन दिन हिँड्नुपर्छ । जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री–२ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं ७ कै बुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरु सडकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ ।
वडा नं ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि दुई दिन पैदल हिँड्नुपर्छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बा हिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न एक दिन पैदल हिँड्नुपर्छ । वडा नं ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्धगणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोपकेन्द्र पुग्न पनि सडकदेखि एक दिन पूरै पैदल हिँड्नुपर्ने बाध्यता छ ।
वडा नं ३ को वुद्ध मावि केन्द्र, बुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सस्र्यू केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्र पनि सडक सञ्जालसँग जोडिएको छैन । ती केन्द्रहरु एक घण्टादेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने दूरीमा छन् ।
धार्चे गाउँपालिका–१ हुलचुक मतदान केन्द्रसम्म सडक निर्माण गरिए पनि मोटर चल्ने अवस्थाको नभएको वडाध्यक्ष रामसिङ गुरुङले बताए । त्यहाँ पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ ।
ती मतदान केन्द्रहरुबाट मतपेटिका ओसार्न विगतमा हेलिकप्टरको प्रयोग गरिएकाले यसपटक पनि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्