images
images
images

सिनर्जी पावरको १९औँ वार्षिक साधारण सभा अराजक गतिविधिका कारण स्थगित

images

पूर्वाधार वाच, काठमाडौं।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको दादागिरी र धाकधम्कीका कारण आजका लागि बोलाइएको १९औँ वार्षिक साधारण सभा (AGM) स्थगित भएको जनाएको छ। कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै साधारण सभा सञ्चालन असम्भव बनेपछि सभालाई स्थगित गर्नुपरेको स्पष्ट पारेको हो।

सभा सञ्चालनमा अवरोध

कम्पनीका अनुसार साधारण सभा शुरु हुनुअघि नै केही व्यक्तिहरूको अराजक समूहले सभा स्थल तथा सभा हल कब्जा गरी शेयरधनी उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिएको थियो। साथै, शेयरधनीहरू, शेयर रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी तथा निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिँदै सभाको नियमित काम–कारवाही सुरु गर्न अवरोध पुर्‍याइएको कम्पनीले जनाएको छ।

पुनः बोलाइएको सभा पनि प्रभावित

सिनर्जी पावरको सञ्चालक समितिको २०८२ पुस ३ गतेको बैठकले २०८२ पुस २८ गते १९औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको थियो। तर उक्त दिन गणपूरक संख्या नपुगेपछि आज माघ ८ गते पुनः साधारण सभा आह्वान गरिएको थियो।

प्रोक्सी विवादले स्थिति थप जटिल

कम्पनीका अनुसार साधारण सभामा प्रोक्सी दर्ता गरेका शेयरधनीहरूलाई निर्वाचन अधिकृतले रद्द भएका प्रोक्सीको विवरण भरपाई गरी लिन अनुरोध गर्दा अराजक समूहले सभा स्थलमै प्रोक्सी प्रमाणित गर्नुपर्ने अडान राखेका थिए। शेयर रजिष्ट्रार तथा निर्वाचन अधिकृतद्वारा प्रमाणित प्रोक्सीलाई स्वीकार नगर्ने भन्दै कम्पनीका कर्मचारीमाथि हातपातको प्रयास समेत भएको कम्पनीले उल्लेख गरेको छ।

सञ्चालक समितिद्वारा खेद प्रकट

यस्तो असहज र अराजक परिस्थितिका कारण वार्षिक साधारण सभा सञ्चालन गर्न नसकिएको भन्दै सञ्चालक समितिको निर्णयअनुसार आजको साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ। सभामा देखिएको यस किसिमको अराजक गतिविधिप्रति कम्पनीको सञ्चालक समितिले गम्भीर खेद प्रकट गरेको छ।

अर्को मिति पछि सार्वजनिक गरिने

कम्पनीले स्थगित भएको वार्षिक साधारण सभाको नयाँ मिति, समय र स्थान सम्बन्धी जानकारी उपयुक्त समयमा सार्वजनिक गर्ने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्