images
images
images

बागबजार–बबरमहल सडकमा बक्स कल्भर्ट निर्माण गरिँदै, वैकल्पिक मार्गको व्यवस्था

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ भने प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो।

यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव तर्फ १४ मिटरको हुनेछ । निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ ।
सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्न लागेको बताए ।

उनले भने, ‘अहिले त्यहाँ पानी निकासका लागि राखिएका ह्युम पाइप पुराना भइसकेका छन्। बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम बढ्छ। त्यसैले बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’

कल्भर्ट निर्माणको क्रममा उक्त सडक पूर्ण रूपमा बन्द हुनेछ । त्यसैले डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने, र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिने सवारीका लागि वैकल्पिक मार्ग कमलादी मोड, कमलादी गणेश मन्दिर, घण्टाघर मार्ग उपयुक्त हुने अपेक्षा गरिएको छ।

काम सुरु भएपछि सडक खण्ड करीब २ महिना बन्द रहनेछ । धोवीखोला नदी नजिक रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुने भएको छ । यस कल्भर्टको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ भने प्रारम्भिक लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपैयाँ थियो।

यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटर हुनेछ । काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ।

‘यस ठाउँमा रहेको पुरानो फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले क्षति पुर्‍याएको थियो। वडाले निर्माण योजना बनाउँदै गर्दा महानगरपालिकाको केन्द्रीय बजेटबाट काम हुन लागेको हो,’ वडा नं. ११ का अध्यक्ष हीराला तण्डुकारले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्