images
images
images

बालकोट बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न: संस्थागत सुशासन र सदस्य-केन्द्रित सेवामा जोड

images

पूर्वाधार वाच,भक्तपुर ।

सूर्यविनायक नगरपालिका–२, बालकोटमा अवस्थित बालकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा शनिबार (असोज १० गते) कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जयराज पौडेलको अध्यक्षता तथा ज्येष्ठ सदस्य रोहित बहादुर राणा क्षेत्रीको विशिष्ट आतिथ्यमा सभा आयोजना गरिएको थियो।

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेयर सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारण सभामा संस्थाको आर्थिक, प्रशासनिक तथा सामाजिक प्रगति विवरण प्रस्तुत गरी भावी रणनीति पारित गरिएको छ।

रजत जयन्तीको समीक्षा र अध्यक्षको मन्तव्य

संस्थाका अध्यक्ष जयराज पौडेलले २५ वर्षको यात्रा पूरा भएको अवसरमा प्रारम्भिक कालदेखि हालसम्म योगदान पुर्‍याउने संस्थापक सदस्य, पूर्व सञ्चालक समिति, कर्मचारी तथा समस्त सेयर सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्नुभयो।

अध्यक्ष पौडेलले आफ्नो मन्तव्यमा भने, “बालकोट सहकारीमा प्रत्येक घरको आबद्धता, तपाईंको आर्थिक, सामाजिक विकास हाम्रोप्रतिबद्धता“भन्ने मूल नाराका साथ संस्था अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले सहकारी केवल बचत सङ्कलन गर्ने माध्यम मात्र नभई सदस्यहरूको बचत सुरक्षित गर्ने, आवश्यकता अनुसार कर्जा प्रवाह गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने आधार भएको स्पष्ट पार्नुभयो।

साझा चुनौती र देशको पछिल्लो परिस्थितिप्रति संवेदनशीलता व्यक्त गर्दै उहाँले पछिल्ला प्राकृतिक विपद्का पीडितहरूप्रति समवेदना समेत प्रकट गर्नुभयो। साथै, युवा पुस्ताको अपेक्षा, सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थाले प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो।

नीतिगत सुधार र विनियमावली संशोधन

संस्थाकी सचिव निर्मला बरालले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन अनुसार संस्थालाई थप पारदर्शी, व्यवस्थित र समयसापेक्ष बनाउन विविध नीति नियमहरू निर्माण तथा परिमार्जन गरिएको छ।

साधारण सभाले सहकारी ऐन २०७४ को नियम १५ (अनुसूची १३) मा उल्लेखित विषयहरू समेट्दै निम्न विनियमावली तथा नीतिहरू सर्वसम्मतिले पारित गरेको छ:

  • विनियम संशोधन तथा परिमार्जन
  • मानव संसाधन नियमावली
  • आर्थिक प्रशासन नियमावली
  • सम्पत्ति शुद्धीकरण नियमावली (AML/CFT)
  • बचत नीति तथा ऋण नीति


बालकोट सहकारीका कोषाध्यक्ष विजय प्रकाश मिश्रद्वारा बजेट तथा वित्तीय लक्ष्य प्रस्तुत:

संस्थाका कोषाध्यक्ष विजय प्रकाश मिश्रले संस्थाको आर्थिक अवस्था, वित्तीय चुनौती तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को महत्वाकांक्षी कार्ययोजना र बजेट प्रस्तुत गर्नुभएको छ।

कोषाध्यक्ष मिश्रले प्रस्तुत गर्नुभएको मन्तव्य तथा प्रतिवेदन अनुसार संस्थाले वित्तीय अनुशासन, पारदर्शिता, सुशासन र सदस्य-केन्द्रित आर्थिक सबलीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ।

तरलता, ब्याजदर र बजारको वर्तमान अवस्था

देशको समग्र वित्तीय क्षेत्रमा देखिएको अत्यधिक तरलता (निक्षेप थुप्रिने अवस्था) को प्रभाव बालकोट सहकारीमा पनि परेको कोषाध्यक्ष मिश्रले उल्लेख गर्नुभयो।

  • लगानीका नयाँ क्षेत्र साँघुरिएकाले संस्थामा तरलता बढेको र सोही अनुसार बचतमा दिइने ब्याजदरमा केही कमी ल्याइएको छ।

  • बजारमा नयाँ व्यावसायिक अवसरहरू कम हुँदा अपेक्षा अनुसार ऋण प्रवाह हुन नसकेको अवस्था रहे तापनि, वर्तमान आर्थिक दृष्टिकोणले अहिलेको घट्दो ब्याजदर दीर्घकालीन रूपमा अर्थतन्त्र र संस्था दुवैका लागि उपयुक्त र स्वास्थ्यकर रहेको उहाँको भनाइ थियो।

आगामी रणनीतिक प्राथमिकताहरू

संस्थाको आर्थिक अवस्थालाई थप मजबुत बनाउन कोषाध्यक्ष मिश्रले निम्न विषयहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो:

  • उत्पादनशील र सुरक्षित क्षेत्रमा ऋण लगानी: निक्षेपलाई सुरक्षित गर्दै उत्पादनशील क्षेत्रमा प्राथमिकताका साथ कर्जा प्रवाह गर्ने।

  • प्रभावकारी ऋण असुली र जोखिम न्यूनीकरण: ऋण असुली प्रक्रियालाई कडाइका साथ अघि बढाउने र संस्थागत जोखिम कम गर्ने।

  • मितव्ययिता र खर्च नियन्त्रण: अनावश्यक खर्चमा नियन्त्रण गरी वित्तीय अनुशासन कायम गर्ने।

  • सदस्य सशक्तिकरण तथा वित्तीय साक्षरता: सेयर सदस्यहरूलाई वित्तीय अनुशासन सम्बन्धी तालिम प्रदान गर्ने तथा पारदर्शिता र जवाफदेहिता थप मजबुत बनाउने।

  • सामाजिक उत्तरदायित्व र वातावरण संरक्षण: स्वास्थ्य शिविर, रक्तदान, धार्मिक/अवलोकन भ्रमणका साथै प्लाष्टिक प्रयोग न्यूनीकरण गर्न कपडाको झोला वितरण कार्यलाई निरन्तरता दिने।

आ.व. २०८३/०८४ को वित्तीय लक्ष्य तथा अनुमानित बजेट

साधारण सभामा कोषाध्यक्ष मिश्रले आ.व. २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको मुख्य वित्तीय लक्ष्य तथा अनुमानित अंकहरू देहाय बमोजिम रहेका छन्:

  • सेयर सदस्य संख्या: २०८३ असार मसान्तसम्म ४,१३२ जना रहेकोमा आगामी वर्षको अन्त्यसम्म ४,१७५ जना पुर्याउने लक्ष्य। (संख्यात्मक भन्दा गुणात्मक सदस्यतालाई प्राथमिकता)।

  • सेयर पुँजी: हाल रु. ३,५३,८८,०००/- रहेकोमा बढाएर रु. ४,२५,००,०००/- (चार करोड २५ लाख) पुर्याउने लक्ष्य।

  • बचत निक्षेप: २०८३ असार मसान्तसम्म रु. ६३,०१,३२,२८३/- रहेकोमा आगामी वर्ष रु. ६५,००,०००,०००/- (६५ करोड) पुर्याउने लक्ष्य।

  • कुल ऋण लगानी: हाल रु. ६२,१३,४१,२९९/- रहेकोमा आगामी वर्षको अन्त्यसम्म रु. ६०,००,०००,०००/- (६० करोड) कायम गर्ने/लगानी गर्ने लक्ष्य।

  • कुल आम्दानी (अनुमानित): आ.व. २०८२/०८३ मा रु. ७,४१,१५,७१३/- रहेकोमा आगामी वर्ष रु. ८,२०,००,०००/- (आठ करोड २० लाख) पुर्याउने लक्ष्य।

कुल खर्च (अनुमानित): आ.व. २०८२/०८३ मा ब्याज, कार्य सञ्चालन तथा अन्य खर्च गरी रु. ६,३९,६८,४६५/- भएकोमा आगामी वर्ष ब्याज र प्रशासनिक खर्च समेत गरी रु. ६,९०,००,०००/- (छ करोड ९० लाख) हुने अनुमान।

कोषाध्यक्ष मिश्रले संस्थाप्रति निरन्तर विश्वास राखी सेयर, बचत तथा आर्थिक कारोबार मार्फत सहयोग पुर्याउन सम्पूर्ण सेयर सदस्यहरूसँग अपिल गर्दै आफ्नो मन्तव्य टुङ्ग्याउनुभएको थियो।

साधारण सभाले पारित गरेका मुख्य प्रस्तावहरू

सभाले देहाय अनुसारका मुख्य कार्यसूची तथा प्रस्तावहरूमाथि गहन छलफल गरी पारित गरेको छ:

  • आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित।
  • आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व. २०८३/०८४ को बजेट प्रस्तुत र पारित।
  • आ.व. २०८२/०८३ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित।
  • आ.व. २०८३/०८४ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।
  • संस्थाको विनियम, नियमहरू तथा नीतिहरूको संशोधन पारित।
  • कर्मचारी, सञ्चालक समिति तथा व्यवस्थापन समितिको तलब/भत्ता पारित।
  • निर्णय पुस्तिका प्रमाणीकरण।

सामाजिक उत्तरदायित्व र भावी कार्यदिशा

बालकोट सहकारीले केवल वित्तीय कारोबारमा सीमित नरहेर शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आगामी दिनमा पनि प्रविधिमैत्री (Tech-friendly) सेवाहरू विस्तार गर्दै सदस्य-केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको अन्त्यमा संस्थाका कानूनी सल्लाहाकार अधिवक्ता श्री सुरेश कुमार कार्की लगायतका अतिथिहरूले २५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्