images
images
images
images

शुभप्रवा सहकारीको १७औँ साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब १७ करोड नाघ्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको चावहिल, चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २५ गते आइतबार सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा सम्पन्न सभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहित विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

images

संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि पूर्व गभर्नर डा. युवराज खतिवडा, प्रमुख  कार्यकारी निर्देशक (सीईओ) फडिन्द्र कुमार खड्का, सचिव तेज नारायण श्रेष्ठ, सञ्चालक समिति, लेखा समिति, कर्जा उपसमिति तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

कुल सम्पत्ति १७.४८ प्रतिशतले बढ्यो

सहकारी क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बाबजुद शुभप्रवा सहकारीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा प्रमुख वित्तीय सूचकहरूमा वृद्धि हासिल गरेको छ । प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काद्वारा प्रस्तुत वित्तीय समीक्षाअनुसार संस्थाको कुल सम्पत्ति १७.४८ प्रतिशतले वृद्धि भई १ अर्ब १७ करोड ७ लाख २९ हजार ४६४ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, संस्थाको सेयर पुँजी ६.०३ प्रतिशतले वृद्धि भई १० करोड ७८ लाख ७२ हजार ८०० रुपैयाँ पुगेको छ । कुल निक्षेप संकलन १८.६४ प्रतिशतले बढेर ८८ करोड ४ लाख ७९ हजार ४८० रुपैयाँ पुगेको छ भने कर्जा लगानी १७.८१ प्रतिशतले वृद्धि भई ७४ करोड ५६ लाख ७३ हजार १६५ रुपैयाँ पुगेको छ ।

संस्थाको कुल आम्दानी ७.४९ प्रतिशतले बढेर ९ करोड ८२ लाख ७९ हजार ४०५ रुपैयाँ पुगेको छ । त्यस्तै, कोष व्यवस्थापनतर्फ ६.११ प्रतिशतको वृद्धि हासिल गर्दै कोषको रकम ८ करोड ३ लाख २३ हजार ५४९ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

डिजिटल बैंकिङ सेवामा जोड

अध्यक्ष विदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक खड्काका अनुसार संस्थाले विगत छ वर्षदेखि डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको छ । सदस्यलाई सहज, छिटो र प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले विभिन्न डिजिटल सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

संस्थाको शुभप्रवा स्मार्ट एप मार्फत बिजुली, खानेपानी, टेलिफोन, टेलिभिजन, इन्टरनेट, हवाई तथा बस टिकट, बीमा, मेरो सेयर र डिम्याटसम्बन्धी भुक्तानी सेवा उपलब्ध गराइएको छ ।

त्यसैगरी, सदस्यका लागि कनेक्ट आईपीएसमार्फत रियल टाइममा एक करोड रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सकिने सुविधा तथा विभिन्न क्यूआर कोडमा आधारित स्क्यान एन्ड पे भुक्तानी प्रणाली सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।

डिजिटल कारोबारलाई सुरक्षित बनाउन संस्थाले क्लाउड डाटा ब्याकअप प्रणालीको व्यवस्था गर्नुका साथै मोबाइल बैंकिङ सेवालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ ।

सम्पत्ति शुद्धीकरण नियन्त्रण र सामाजिक उत्तरदायित्व

संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी (एएमएल/सीएफटी) कानुनी प्रावधानहरूको पालना गर्दै संस्थागत सुशासन र स्वनियमनलाई प्राथमिकता दिएको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले यस वर्ष धुर्मुस–सुन्तली फाउन्डेसन, राष्ट्रिय आविष्कार केन्द्र र काठमाडौं महानगरपालिकालाई आर्थिक सहयोग गरेको जनाएको छ । त्यस्तै, रसुवा जिल्लाका भोटेकोशी बाढीपीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५०० रुपैयाँ प्रदान गरेको छ ।

यसका अतिरिक्त, एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक जना छात्र र एक जना छात्रालाई नगदसहित सम्मान गर्ने कार्यक्रमसमेत सुरु गरिएको संस्थाले जनाएको छ ।

साधारणसभाबाट विभिन्न प्रस्ताव पारित

सचिव तेज नारायण श्रेष्ठद्वारा प्रस्तुत कार्यसूचीअनुसार साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहित विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ । त्यस्तै, सोही आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पनि स्वीकृत गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै, संस्थाको विनियम तथा आन्तरिक कार्यविधि पारित र संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

त्यसैगरी, सेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, सञ्चालक समितिका निर्णयहरूको अनुमोदन र संस्थाको नाममा रहेको गैरवित्तीय सम्पत्ति (नन-बैंकिङ एसेट्स) बिक्रीसम्बन्धी प्रस्तावसमेत सभाबाट पारित भएका छन् ।

सुरक्षित डिजिटल कारोबार गर्न अध्यक्ष बस्नेतको आग्रह

सभाको समापनमा अध्यक्ष विदुर बस्नेतले आगामी विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

उनले सेयर सदस्यहरूलाई सुरक्षित र सहज वित्तीय कारोबारका लागि शुभप्रवा स्मार्ट एप, एटीएम तथा क्यूआर कोडजस्ता डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गरेका थिए ।

संस्थाले वित्तीय सूचकमा वृद्धि, डिजिटल सेवाको विस्तार, संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सदस्यहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्नो गतिविधि अघि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्