images
images
images

आईटी क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेकी छन् ।

नेपाल-इटाली चेम्बर अफ कमर्सको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण रहेको भन्दै लगानी गर्न आग्रह गरेकी हुन् ।

“हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं,” मन्त्री शर्माले भनिन्, “नागरिक र राज्यका डेटा सुरक्षा लगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं ।”

लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिंदै उनले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताइन् ।

“सरकारी तवरबाट संख्या यकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आईटी जनशक्तिले देशभित्रै बसेर सीप र सेवा विभिन्न मुलुकमा निर्यात गरिरहेको अवस्था छ,” मन्त्री शर्माले अगाडि भनिन्, “लगानीमैत्री नीति र कानून तथा दक्ष जनशक्ति उपलब्धता आदिले आईटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल(इटाली चेम्बर अफ कमर्सलाई आग्रह गरिन् ।

“यहाँहरु जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ ।  अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ । यसमा धेरै भन्दा धेरै इटालीका लगानीकर्तालाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ,” उनले थपिन् ।

लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानून तत्काल संशोधन गर्ने तयारी रहेको मन्त्री शर्माको भनाइ छ‍ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्