images
images
images

रणबाङ-दरबाङ सडक : ठेकेदारको लापर्बाहीले कालोपत्रेको काम अलपत्र

images

पूर्वाधार वाच, म्याग्दी ।

सडक कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापर्बाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ-दरबाङको कालोपत्रेको काम अलपत्र परेको छ ।

बिरुवा-क्याराभान जेभीले २०७६ साल जेठ ३१ गते जिल्लाको लाइफलाइन मानिएको यो सडक कालोपत्रेका लागि ठेक्का लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु यातायात व्यवसायी र स्थानीयलाई सास्ती भएको छ ।

मङ्गला गाउँपालिका-२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत भएको छ। गत चैत, वैशाखयता निर्माण व्यवसायी आयोजना स्थलमा देखिएका छैनन् ।

रणबाङका श्रीराम पौड्यालले सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको बताए । सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका-६ तोलाबाङकी विकले गुनासो पोखन् ।

उनले भनिन्, ‘सडकको धुलो र धुवाँ उडेर घरको भान्सामा पस्छ । बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ ।’

रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ । दुखुका एलिस रोकाले भने, ‘सडक निर्माणको काम अधुरो, अधकल्चो भएर रोकिएको छ । यसले गर्दा हिउँदको समयमा धुलाम्मे र बसतिको समयमा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ।’

सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक पटक ताकिता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताए । उनले भने, ‘ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन् ।’

फोन नउठाउने बिरुवा क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकिता गरेको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले चार किलोमिटरमा सबबेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको यो सडक २०६३ सालमा मार्ग खुलेको थियो ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने गर्दछन् । उक्त खण्डको कालोपत्रे योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्