images
images
images

नागढुंगा सुरुङ निर्माण थालेको चार वर्षमा साढे ८० प्रतिशत काम सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थालेको चार वर्षमा भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । अहिले काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ ।

सुरुङभित्र लाइनिङको काम सकिएको र अन्य फिनिसिङको काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले बताए । उनका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, तीनवटा बक्स कर्ल्भट, एउटा ओभर पास र ३ वटा पुल निर्माणको काम सकिएको छ ।

गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अन्य निर्माणको काम अघि बढाइएको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यमा उक्त सुरुङ निर्माणको सबै काम सकेर यातायात सञ्चालनमा ल्याइने उल्लेख थियो । बलम्बुदेखि सुरुङ मार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम भएको छ ।

आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने ०८० साउन २२ मा भएको थियो । यसको दूरी २५५७ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको हो । तर उक्त समयमा पनि काम नसकिँदा फेरि डेढ वर्ष म्याद थपिएको छ । जसअनुसार ०८२ असोजभित्र सुरुङबाट सवारीसाधन सञ्चालनमा ल्याइने प्रमुख झाले बताए ।

यसको निर्माण ०७६ कार्तिक ४ बाट सुरु भएको हो । तर कोभिड महामारी र पटक–पटक स्थानीयको अवरोधले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समस्या भएको आयोजना प्रमुख झाले बताए । ‘सुरुङ सञ्चालनमा आएपछि १ अर्ब ७२ करोड रुपैयाँ बराबरको टायर, इन्धनको बचत हुनेछ,’ उनले भने, ‘दुईपांग्रे र इन्धन बोकेका गाडी सुरुङमा चलाउन पाइने छैन ।’

सुरुङ मार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । मुख्य सुरुङको दूरी २.६८८ किमि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्