– बैकुण्ठ दाहाल
देश बिग्रियो, सकियो, भत्किसक्यो अब देशमा कुनै सम्भावना नै छैन, देशमा गरिखाने वातावरण नै छैन र गर्ने खालका क्षमतावान् मान्छे पनि बाँकी छैनन् भन्ने भाष्यले पछिल्लो समय व्यापकता पाइरहेको छ ।
देशभित्र सम्भावनाका ढोकाहरूमा भोटे ताल्चा मारेर देशका ठेकेदार भनाउँदाहरूले देशको नुन पानी खाएर देशकै बारेमा नकारात्मक टीकाटिप्पणी गर्नमै तल्लीन छन् ।
सबभन्दा पहिला त यिनैलाई सरकारले ठेगान लगाउन जरुरी छ । आफ्नै देशको नुन पानी खाएर देशविरुद्ध नकारात्मक भाष्य निर्माण गरी भ्रमको खेती गर्नेहरूलाई अब सरकारले ज्वाइँ पालेसरि पाल्नु मुलुकका लागि घातक हुनेछ ।
,अब लागौँ युवा जनशक्ति र यिनलाई सरकारले किन आफ्नै देशमा रोक्न सकेन त भन्ने बहसतिर देशबाट दैनिक ३/४ हजार युवा रोजगारी तथा अध्ययनको लागि भन्दै विदेश पलायन भइरहँदा सरकार किन टुलुटुलु हेरेर मात्र बसिरहेको छ ?
किन सरकारले युवालाई आफ्नै देशमा रोजगारी दिन सकिरहेको छैन । के यो विषयमा कुनै दिन संसद् भवनमा बहस भएको छ त ? पक्कै छैन । किन्तु परन्तु सरकार आफ्नै सत्ता जोगाउन बाहेक अरू कुनै पनि काममा लागिपरेको देखिँदैन । जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै जति सरकार बन्छन् स्वार्थमा, र भत्किन्छन् पनि स्वार्थमै ।
जब देशमा ठूला ठूला राजनैतिक परिवर्तनका लागि आन्दोलन हुन्छन् त्यता मात्र युवा जनशक्तिको प्रयोग भएको देखिन्छ, र सीमित अभिष्टि पूरा हुने बित्तिकै तिनै युवा शक्तिको अवमूल्यन हुन्छ । देशमा भएका उद्योग धन्दा कल कारखाना कौडीको मूल्यमा बेचेर युवाहरूलाई विदेशिन बाध्य पार्ने यो निर्लज्ज राष्ट्रघाती दलाल सरकारबाट अब जनताले के नै आशा राख्ने ठाउँ रह्यो र ?
सरकार छ, छैन ? जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । दिनदिनै युवा पलायन हुँदैछन् । निकम्मा सरकार गाउँ खाली गराएर युवालाई खाडीमा धकेल्दै छ ।
सरकारले युवालाई देशमा रोक्नै नहुने हो ? के युवाहरूलाई सरकारले भोट बैंकको रूपमा मात्रै उपयोग गर्ने हो त ? गाउँका खेतबारी बाँझै छन् ।बुढा बा आमाले गाउँमा कुरेर बसेका छन् । सहाराविहीन हुँदैछ गाउँघर । के सरकार बेखबर भएकै हो ?
१२ कक्षा पास गरेका युवायुवती सबै झोलामा राहदानी बोकेर म्यानपावर धाइरहेको दृश्य सरकारले नदेखेकै हो त ? आखिर सरकारले युवालाई देशमै उद्यमशील बनाउने नीति किन ल्याउन चाहँदैन ? के अब बहसको विषय बनाउनु पर्दैन ?
समय अझै छ सरकारले चाहने हो भने नौजवान युवालाई देशमै रोक्न सक्ने वातावरण तय गर्न गराउन सक्छ । न कि सबभन्दा पहिला कुनै पनि काम ठूलो सानो हुँदैन भन्ने चेत पनि युवा जनमा भर्न सक्नुपर्छ ।
विदेशमा गएर जुनसुकै काम गर्न पछि नहट्ने अनि त्यही काम स्वदेशमा गर्न हिचकिचाउने हामीले नेपालीले यो बानीमा पनि सुधार गर्न जरुरी छ । यसका लागि सरकारी तवरबाट व्यापक प्रयास र जनचेतनामूलक कार्यक्रममार्फत नौजवान युवाको चेत खोल्नु समेत जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्