पूर्वाधार वाच, काठमाडौं ।
उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।
आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । सो विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।
प्राधिकरणका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ भने नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।
थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको छ ।
विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।
थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५)सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्