पूर्वाधार वाच, काठमाडौं ।
यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगन्जमा बिहीबार आयोजित कार्यक्रमबिच कुकुर पूजा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरुङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् । उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधा पारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ लाई पुरस्कार प्रदान गरेकी थिइन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गुरुङले नेपाल प्रहरीको केनाईन सेवाको सुरुवात, विकास तथा विस्तारमा योगदान पुर्याउनुहुने अवकाश प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार बान्तवा र अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक स्व. दण्डपाणि भट्टराईको सुपुत्र अमित भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले हातहतियार तथा विस्फोटक पदार्थको खोजी तथा पहिचान, लागू औषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाई जम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधा पार र खोजी तथा उद्धार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार बान्तवाले सेवामा रहँदा भए गरेका अनुभव व्यक्त गर्नुहुँदै अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समयानुकूल तालिम दिन सकेमा थप प्रभावकारी हुने बताए ।
प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्