images
images
images

सिंचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोड भ्रष्टाचारकाे मुद्दा

images

पूर्वाधार वाच, काठमाडौं ।

जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही कमिसनबाट उनले काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख थियो ।

यस सम्बन्धमा अनुसन्धान हुँदा श्रेष्ठले चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले बिगो चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न कायम गरी सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको छु, उनले भने ।

साथै, श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनको लागि पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्