images
images
images

बागरमा खानेपानीको समस्या, आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता

images

तुलसीपुर (दाङ) । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ ।

त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गरिन् । “पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ”, उनले भनिन् ।

त्यहाँ करिब डेढ सय घरपरिवार छन् । बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताए । “दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो”, उनले भने, “घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन ।”

गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो । केही समय त ती धारामा पनि पानी आयो । तर, अहिले ती धारा सुक्खा छन् । “ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो”, स्थानीय निमबहादुर खत्रीले भने, “त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो ।”

खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्