images
images
images

महानगर यातायातका ४० नयाँ बस सञ्चालनमा, आईपीओ जारी गर्ने घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यकामा यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको महानगर यातायात प्रालीले सेवा विस्तार गरेको छ । काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिंदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको हो ।

नयाँ वसहरुको साँचो हस्तान्तरण गर्न टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीको नैकाप स्थित कार्यालयमा विहीवार आयोजित समारोहमा नयाँ बसहरु संचालनमा आएसंगै चक्रपथ बाहेकका अन्य गन्तब्यहरुमा पनि सेवा दिने जानकारी गराइएको छ ।

सो अवसरमा प्रालीका उपाध्यक्ष सन्तोष खतिवडाले बसहरु थपिएसंगै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

२०७२ सालमा स्थापना भएको महानगर यातायात प्रालीले हालसम्म ४९ वटा सिटी वसहरु मार्फत यात्रुहरुलाई सेवा दिंदै आएको थियो । नयाँ बस थपिएसंगै वसहरुको संख्या ८९ पुगेको छ । कार्यक्रममा उपाध्यक्ष खतिवडाले भने, महानगर यातायातको सेवा अझै विस्तार हुनेछ र आगामी एक वर्षभित्रै ५० वटा विद्युतीय वसहरु पनि संचालनमा ल्याउनेछ ।
महानगर यातायात प्रालीले बिहीबार नै अर्को महत्वपूर्ण घोषणा पनि गरेको छ । सेवा विस्तारबारे जानकारी दिन आयोजित सोही कार्यक्रममा उपाध्यक्ष खतिवडाले महानगर यातायात अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने जानकारी दिएका हुन् । पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढ्दै, महानगर यातायातले आफ्नो सेयर आइपिओ जारी गर्ने तयारी समेत गरेको छ ।

पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएसँगै महानगर यातायात नेपालको सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बन्ने ऐतिहासिक सफलता हासिल गर्नेछ भन्ने खतिवडाको विश्वास छ । महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ ।

आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जारी गर्दै प्रालीका अध्यक्ष मधुसुदन उपाध्यायले सेवा विस्तारसंगै नेपालभरका यात्रुहरूको यात्रा सहज, सुरक्षित, र सुविधाजनक बन्ने विश्वास ब्यक्त गरेका छन् ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगर यातायातको नयाँ बसहरुको उद्घाटन गर्दै चन्द्रागिरीदेखि धुलीखेल सम्म संचालन हुने महानगर यातायातका वसहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले महानगर यातायातलाई गाडी हस्तान्तरण गरेपछि आवश्यक जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्