पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख सिइओका लागि आगामी बुधवार अन्तरवार्ता हुने भएको छ । कार्यकारी प्रमुख नियुक्ति गर्ने प्रक्रिया अन्तर्गत अन्तिम चरणमा छनौट भएका ५ जनाको यही बुधवार बिहान ८ बजे गृह मन्त्रालयमा अन्तर्वार्ता हुने भएको हो ।
अन्तरवार्ताका लागि छनौट हुनेहरूमा दिनेश प्रसाद भट्ट बैतडी, धर्मराज उप्रेती डडेलधुरा, वसन्तराज अधिकारी कास्की, मन्दिप सुवेदी रोल्पा र सुमनकुमार कर्ण मोरङ छन् । छनौटमा परेका भट्ट गृहमन्त्री रमेश लेखकका भान्जा नाता पर्ने हुन । उनी नेपाली काँगेस महासमितिका सदस्य समेत हुन् । उक्त पदका लागि योग्य उम्मेदवार हुनलाई कुनै पार्टीको सदस्यता नलिएको हुनुपर्ने उल्लेख छ ।
तर भट्ट अन्तिम ५ मा छनौट भएपछि कतिपयले विपद् प्राधिकरणमा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै चिन्ता जनाएका छन् । सरकारले विपद् व्यवस्थापनको जिम्मेवारी विषय विज्ञता, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न सक्ने र यस विषयमा अध्ययन गरेको व्यक्तिलाई दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विपद् व्यवस्थापन जस्तो उच्च प्राविधिक विषयमा राजनीतिक व्यक्तिलाई ल्याउन नहुने भन्दै उनीहरूले २०७२ को भूकम्पपछि पुनर्निर्माण गर्ने निकायमा राजनीतिकरण हुँदा भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म पनि कतिपय परिवार जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काम गरेका एक विज्ञ सदस्यले भने, हामीले विगतको अवस्थाबाट पाठ सिकेर विपद् हेर्ने प्राधिकरणमा अब राजनीति गर्न हुँदैन । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, विगतमा काँग्रेस एमालेको चरम राजनीतिकरणका कारण पुनर्निर्माण नाम मात्रको भयो, अव पनि त्यसो गरियो भने विपद् व्यवस्थापनमा सरकार गम्भीर छैन भन्ने पुष्टि हुन्छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमै काम गरेका अर्का एक पूर्व सचिवले विपद् प्राधिकरणलाई सरकारले पर्याप्त अधिकार र स्रोत साधन उपलब्ध गराउन कन्जुस्याइँ गरेको भन्दै जीवन र मृत्युसँग डिल गर्ने निकायलाई सरकारी अड्डा जस्तो नियमित काम गर्ने कार्यालय बनाउनु नहुने बताए ।
उनले भने, प्राधिकरणको अर्थ आफैमा शक्तिशाली भन्ने हो र सरकारले त्यसको नेतृत्वमा जाने कमान्डरलाई पनि शक्तिशाली नेतृत्व दिएर पठाउनुपर्छ जसले विषय बुझेको छ, विपद्मा काम गरेको अनुभव छ त्यसले मात्र प्राधिकरणको नेतृत्वलाई सही दिशा दिन सक्छ नत्र प्राधिकरण बनाउनुको कुनै औचित्य नै छैन ।
खास गरी उक्त प्राधिकरण विकास साझेदार संस्थाहरूसँगको समन्वयमा अघि बढ्ने भएकाले अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्ने व्यक्तित्वलाई सिइओ बनाउनुपर्नेमा विज्ञहरूको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्