पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्जिनियर एसोसिएसनको आयोजनामा सोमबारदेखि नेपाल राष्ट्रिय भवन संहितासम्बन्धी ५ दिने तालिम सुरु भएको छ । एसोसिएसनको केन्द्रीय कार्यालय ललितपुरको पुलचोकमा आजदेखि उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै एसोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले सुरक्षित भवन र शहर बनाउने कुरामा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहने भएकोले एसोसिएसनले उक्त तालिम आयोजना गरेको बताए । आफूले नजानेका र सिक्न चाहेका कुराहरु निर्धक्क भएर सिकाइमा जोड दिन पनि तालिममा सहभागीहरूलाई अध्यक्ष बरालले आग्रह गरे ।
इन्जिनियरहरूको सीप, क्षमता अभिवृद्धिका लागि सरकार र विभिन्न संघसंसस्थाहरुसँ निरन्तर संवाद र पहल गरिरहेको समेत उनले बताएका छन् । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले सरकारले भवन संहिता कार्यान्वयनमा चालिरहेका कामहरूबारे जानकारी दिँदै इन्जिनियरहरूलाई नै दिइने तालिम संहिता लागू गर्नमा कोशेढुंगा साबित हुने बताए ।
उपमहानिर्देशक तुलाधरले नेशनल बिल्डिङ कोडसम्बन्धी जनचेतना फैलाउन समेत सरकार निरन्तर लागिरहेको जानकारी दिए । भवन संहिता विगत एक दुई वर्षदेखि निरन्तर सरोकारवाला निकायहरूसँग सहकार्य गरी भवन र शहर कसरी दिगो र जोखिम बहन गर्न सक्ने क्षमताको बनाउने भन्नेबारे सहकार्य गरिरहेका बताए । 
एसोसिएसनका कोषाध्यक्ष एवं तालिमका संयोजक ई. सुमन थापाले एसोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर यस्ता तालिमहरुमार्फत् पहल गरिरहेको जानकारी दिए । उनले एसोसिएसनमार्फत् इन्जिनियरहरुको दक्षता अभिवृद्धिका लागि तालिमसँगै टेक्निकल र पाठ्यक्रम निर्माणका विषयमा समेत गम्भीरतापूर्वक कदम चालिरहेको बताए ।
केन्द्रीय सदस्य ई. प्रभुराम पोखरेलले एसोसिएसनले विभिन्न निकायहरूसँग सहकार्य गरेर इन्जिनियरहरूको क्षमता वृद्धि गर्न निरन्तर लागिरहेको बताए । यस्ता कार्यक्रमहरू राजधानीभन्दा बाहिर पनि सञ्चालन गर्न एसोसिएसन प्रयासरत रहेको बताउँदै आगामी दिनमा थप नयाँ कार्यक्रम तथा तालिमहरू सञ्चालनमा आउने उनले जानकारी दिए ।
उक्त तालिममा भूकम्पको जोखिम, नेपालमा हाल भवन तथा घरहरूको अवस्था, नेपालमा घर तथा भवन निर्माण गर्दा रहेका कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षकहरूले आगामी ५ दिनमा सिकाउने छन् ।
शहरी विकास तथा भवन निर्माण विभागसँग सहकार्यमा सुरु भएको सो तालिममा झण्डै तीन दर्जन बढी सिभिल तथा आर्किटेक्चर इन्जिनियरहरूको सहभागिता छ । उक्त तालिमको सहजीकरण इन्जिनियरहरू माधव कटुवाल, देवेन्द्रदेव खनाल, विवेक नेपाल, निशा खनाललगायतले गर्नेछन् ।

भवन निर्माण संहिता सुरक्षित, सुदृढ, र दिगो भवन निर्माणका लागि एक महत्त्वपूर्ण निर्देशिका हो। यसको प्रभावकारी कार्यान्वयनले मात्र जनधनको सुरक्षा र वातावरणमैत्री विकास सुनिश्चित हुन सक्दछ । यस्तै नेपाल विभिन्न प्राकृतिक प्रकोप एवं भूकम्पको उच्च जोखिमयुक्त देश भएका कारण समेत भवन निर्माण संहिताको उचित कार्यान्वयन महत्त्वपूर्ण रहेको छ ।
यसतर्फ सबै सरोकारवालाहरू-निर्माण व्यवसायी, इन्जिनियर, स्थानीय निकाय, र सर्वसाधारणले संहिताको मर्म र मापदण्डहरूको पूर्ण रूपमा पालनाका लागि सचेत बन्नुपर्ने आवश्यकता छ ।
भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी प्रविधि, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग, फाउन्डेसनको मजबुती, अग्नि सुरक्षा, निकास तथा हावाको प्रवाह, प्लम्बिङ तथा विद्युतीय मापदण्ड लगायतका कुराहरूलाई भवन संहिताले विशेष जोड दिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्