पूर्वाधार वाच, काठमाडौं ।
मधेश प्रदेश सभामा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको राजीनामा मागिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाले बिहीबार भौतिक मन्त्रीको राजीनामा मागेका हुन् ।
उनले मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘मन्त्री यादवले सदनको गरिमामाथि प्रहार गरेका छन् । उनको अभिव्यक्तिले सरकारको गरिमालाई खस्काएको छ । यसबाट प्रदेश सभाका १०७ जना सांसदको गरिमाथि पनि प्रश्न खडा भएको छ ।’
कुशवाहाले बुधबारको प्रदेश सभा बैठकमा मन्त्री यादवले तथ्यहीन र आधारविहीन शब्दहरू प्रयोग गरेको आरोप लगाए । कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् ।
प्रदेश सभा सदस्य कुशवाहाले सरकारको प्रभावकारीता र नेतृत्वको अभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे ।
उनका अनुसार प्रदेश सरकारको असफलताका कारण मधेश प्रदेशको समग्र विकास प्रभावित भइरहेको छ । जनताको विश्वासको कमी भइरहेको छ ।
यसअघि, प्रदेश सभा बैठकमा मन्त्री यादवले विपक्षी दलका आरोपहरूको खण्डन गर्दै सरकारको तर्फबाट जवाफ दिएका थिए । मन्त्री यादवले प्रदेशका सांसदहरूले योजनाहरूलाई आफ्नो स्वार्थका लागि बार्गेनिङ गर्ने गरेको बताएका थिए ।
चालु आर्थिक वर्षमा मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कुल पुँजीगत खर्च १२ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । यसमा प्रदेश सभा सदस्यहरूको योजनामा लगभग २ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको छ । यो रकम ५ करोडदेखि डेढ करोडसम्मका विभिन्न योजनाहरूमा बाँडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्