पूर्वाधार वाच, कलैया।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिचाई सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कार्य भएको टिप्पणी गरेका छन् । बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेपाल–भारत बीचको सम्झौता अनुसार नेपालले पानी नपाउँदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम भएको बताए ।
मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धान खेती गर्न नपाउँदा मर्कामा परिरहेका बेला नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी नआउँदा समेत प्रधानमन्त्री ओलीले चुपी साध्नु राष्ट्रवादी नभई राष्ट्रघाती काम भएको उनले बताए ।
‘यही नारायणी नहर बारा जिल्लाको बीच भएर जान्छ, तर पानी छैन । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैन । आफ्नो हक अनुसार भारतसँग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ? यो सरकार किन बनेको हो ? खाली सम्झौता गर्न, बेच्नका लागि बनेको हो ? कि आफ्नो हक खोज्नका लागि पनि बनेको हो ?,’ आजपा अध्यक्ष साहले भने, ‘केपी ओलीजी तपाई राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिचाईबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ । केपी ओलीजी तपाई राष्ट्रघात गर्ने । हाम्रो सिचाई बेचेर अनि मालपानी जोड्ने ?’
नेपाल–भारतको सम्झौता अनुसार गण्डक नहरमा पानी नआउँदा समेत प्रधानमन्त्री ओली भारतसँग पानी नमागेर राष्ट्रघाती काम गरेको बताउँदै उनले आक्रोश पोखका छन् । भारतले दिनुपर्ने पानी किन नदिएको प्रश्न गर्दै उनले यसबारेमा भारतसँग किन संवाद नगरेको भन्दै आलोचना समेत गरे ।
‘सम्झौता अनुसार पानी पाउनु किसानको हक अधिकार हो । तर तपाईँले किन पानी नपाउँदा कुरा गर्नुभएन ? आफ्नो हक अधिकार पनि छोड्ने सरकारलाई राष्ट्रवादी भन्ने कि राष्ट्रघाती भन्ने ? हामी त्यसलाई देशभक्त भन्ने कि दलाल भन्ने ? केपी ओलीजी यो राष्ट्रघाती काम चल्दैन । तपाई (ओली)को राष्ट्रघाती कार्य हामीलाई स्वीकार्य छैन । तपाईँको शरीरमा थोरै पनि नेपालको दानापानी छ भने नेपालको हकको बारेमा बोल्नुस् । नेपालीको भाग खोज्नुस्,’ आजपा अध्यक्ष साहले भने ।
अहिले एमाले–कांग्रेस सहितको दुई तिहाईको शक्तिशाली सरकार छ । तर दुई तिहाइ शक्तिशाली सरकारको काम ‘एक पैसा’को पनि नभएको टिप्पणी साहले गरेका छन् । सर्वसाधारण जनता, किसान, मजदुरको पक्षमा वर्तमान सरकार काम नगरेर ‘मृत्यु शय्या’मा पुगे जस्तै अनुभूति भइरहेको उनले बताए ।
‘मधेसमा पानीको हाहाकार छ । पानी नपाएर सर्वसधारणदेखि किसानहरू पीडामा छन् । अहिले नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी एक चौथाई समेत आएको छैन,’ आजपा अध्यक्ष साहले भने, ‘आफ्नो हक अनुसारको पानी दाबी गर्नु र ल्याउनुको साटो प्रधानमन्त्री केपी ओलीजी चुपकी साधेर बस्नुभएको छ, मौन बस्नुभएको छ । चुपकी साधेर भारतको गुलामी गरेर सम्झौता अनुसार पानी आउँदै । म सोध्न चाहन्छु यस्तो अवस्थामा प्रधानमन्त्रीजी चुपकी किन साधेको ? सम्झौता अनुसार पानी किन ल्याएको ?’
सरकारले मधेसलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको समेत उनले बताए । आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खा क्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्