काठमाडौं । काठमाडौं उपत्यकाको अव्यवस्थित शहरी विस्तार, अनधिकृत संरचना नियन्त्रण र दीर्घकालीन विकास योजनाको प्रभावकारी कार्यान्वयन चुनौतीका बीच सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्व परिवर्तन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज शाक्यलाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले शाक्यलाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको हो। उनी काठमाडौं महानगरपालिकामा शहरी व्यवस्थापन विभाग तथा सार्वजनिक निर्माण विभागजस्ता महत्त्वपूर्ण निकायको नेतृत्व गरिसकेका अनुभवी प्राविधिक हुन्।
शहरी पूर्वाधार, भवन व्यवस्थापन, सडक तथा सार्वजनिक निर्माणका क्षेत्रमा उनको लामो अनुभव रहेको छ। यसअघि विकास आयुक्त पदका लागि डा. उमेशजंग थापा, प्रकृति केसी र सुरज शाक्यको नाम सिफारिस भएको थियो। तीन प्रतिस्पर्धीमध्ये मन्त्रिपरिषद्ले अन्ततः शाक्यमाथि विश्वास गरेको हो।
शाक्यको नियुक्तिसँगै काठमाडौं उपत्यकाको योजनाबद्ध विकास, खुला क्षेत्र संरक्षण, मापदण्डविपरीतका संरचनामाथिको निगरानी, जग्गा विकास तथा शहरी पूर्वाधार व्यवस्थापनमा प्राधिकरणको भूमिका थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
पछिल्ला वर्षहरूमा तीव्र शहरीकरणसँगै बढ्दै गएको अव्यवस्थित बस्ती विस्तार, ट्राफिक दबाब र सार्वजनिक पूर्वाधारको अभावले प्राधिकरणको कार्यसम्पादनमाथि निरन्तर प्रश्न उठ्दै आएका छन्।
तत्कालीन विकास आयुक्त जानुका ढकालको कार्यकाल सकिएपश्चात प्राधिकरण केही समय नेतृत्वविहीन अवस्थामा थियो । अब शाक्यको नियुक्तिसँगै प्राधिकरणका कामकारबाही थप वयवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नयाँ विकास आयुक्त शाक्यले यी चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने विषय अब उनको कार्यसम्पादनको मुख्य परीक्षाका रूपमा हेरिएको छ। यसैबीच, बुधबारकै मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्