पूर्वाधार वाच, काठमाडौं ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शासन प्रणाली र प्रमुख राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘देश बन्छ कसरी? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल । प्रकृतिको सबै सम्भावना हुँदाहुँदै पनि हामीले देश डुबायौं ।’
महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने ।
उनले वर्तमान नेतृत्वलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै प्रमुख तीन दल-कांग्रेस, एमाले र माओवादीप्रति आक्रोश पोखे । ‘राजापछि यिनै पार्टीहरूले देश चलाए । देश बनेन् भने यसको जिम्मा कसले लिन्छ ?’ भन्दै उनले प्रश्न गरे ।
महतोले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप पनि लगाए । उनले देशको लाखौं युवा रोजगारीको खोजीमा विदेशिनु परेकोप्रति चिन्ता व्यक्त गर्दै ५० लाखभन्दा बढी युवाहरू देश छाडेर भागिरहेको बताए ।
उनले भने, ‘आज के भएको छ ? जन्मिँदैखेरि लाखौं रुपैयाँ ऋण हाम्रो टाउकोमा लिएर जन्मिनुपर्ने कस्तो देश बनायौं हामीले । यो देशमा हाम्रो सन्तानले बस्न चाहेको छैन । ५० औं लाख जवान युवाहरु देश छोडेर भागिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्