पूर्वाधर वाच, दैलेख ।
जिल्लाको महाबु गाउँपालिका ६, रानीवनका स्थानीय अझै पनि विद्युतको पहुँचबाहिर रहेका छन् । करिब तीन वर्षअघि नै पोल गाडे पनि हालसम्म विद्युत् लाइन विस्तार नहुँदा स्थानीयले अझै पनि विद्युत् उपयोग गर्न पाएका छैनन् ।
बर्षौं अगाडि वडामा विद्युत्को पोल पुगे पनि बिजुली विस्तार नहुँदा स्थानीय अन्धकारमै बस्न बाध्य छन् । रानीवनलगायतका अन्य गाउँमा झिलिमिली पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर बसेको गाउँले पछिल्लो समयमा विद्युत् सेवा उपयोग गर्न नपाउँदा अभाव झेल्न बाध्य छन् ।
नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि सक्रियता नदेखाएका कारण नागरिकलाई समस्या भएको स्थानीय खेमबहादुर सिंहले बताए ।
उनले विद्युत् विस्तारका लागि तीन वर्षपहिले बत्तीको पोल र वायरिङ गरे पनि अहिलेसम्म स्थानीय विद्युत् सेवाबाट वञ्चित हुन परेको गुनासो गरे । उनका अनुसार बिजुली आउने आशामा पोल हेरेरै चित्त बुझाउनु परेको छ ।
महाबु गाउँपालिका-६ का वडाध्यक्ष रेसमबहादुर थापामगरले तीन वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तारमा ढिलाइ भएको बताए ।
उनले विद्युत् विस्तारका लागि वडा सरकारले अब चाँडै पहल गर्ने बताए । नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख इन्जिनियर नरेश रावलले त्यस क्षेत्रमा ठेक्का लिएको कम्पनीलाई काम गर्न ताकिता गरे पनि सम्बन्धित व्यक्तिले काम नगरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्