पूर्वाधार वाच, ललितपुर ।
गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सोमबार ललितपुर–महालक्ष्मीस्थानमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको सभापतित्वमा सम्पन्न सभाले आव २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिबेदन तथा आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले गणेशमान सिंह मेमोरियल हस्पिटलको शेयर खरिद–बिक्री, सहकारीको आगामी निर्वाचन सम्बन्धी व्यवस्था, २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका महत्वपूर्ण प्रस्तावहरू पनि अनुमोदन गरेको छ।
शेयरपूँजी १० करोड ९० लाख, लगानी १३ करोड २० लाख नाघ्यो
साधारणसभामा प्रस्तुत वासलात अनुसार सहकारीको शेयर पूँजी १० करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ। बचत तथा निक्षेप ३ करोड ५२ लाख ५५ हजार ५४२ रुपैयाँ रहेको छ भने कुल लगानी १३ करोड २० लाख ९९ हजार १०० रुपैयाँ पुगेको जानकारी प्रस्तुत गरिएको थियो।
स्वास्थ्य सेवा क्षेत्रलाई लक्षित गरी स्थापना भएको सहकारीले सदस्यहरूलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमार्फत विभिन्न स्वास्थ्य सेवा तथा छुट सुविधा प्रदान गर्दै आएको छ।
बाँस्कोटा पुनः अध्यक्षमा निर्वाचित
साधारणसभाले सहकारीको आगामी कार्यकालका लागि दीपक प्रकाश बाँस्कोटालाई पुनः अध्यक्षमा चयन गरेको छ। साथै अन्य संचालक समिति सदस्य, लेखा समिति संयोजक तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमका दौरान सहकारीकर्मी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा संस्थामा आवद्ध व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा सहभागीहरूले उठाएको जिज्ञासाको उत्तर अध्यक्ष बाँस्कोटाले दिएका थिए। उनले स्वास्थ्य सहकारी क्षेत्र चुनौतीपूर्ण भए पनि गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन र संस्थागत सुदृढीकरणमार्फत सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि निरन्तर प्रयास
सहकारीले समुदायमा आधारभूतदेखि विशिष्ट सेवा पुर्याउन स्वास्थ्य सजगता कार्यक्रम, नियमित स्वास्थ्य परीक्षण, वरिष्ठ नागरिक सेवा, मातृ–शिशु स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्यसम्बन्धी तालिम तथा स्रोत–साधन विस्तारमा प्राथमिकता दिँदै आएको प्रबन्ध निर्देशकले जानकारी दिए।
विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमसहित सम्पन्न भएको १२औँ वार्षिक साधारणसभाले सहकारीलाई आगामी वर्षहरूमा थप प्रभावकारी बनाउने लक्ष्यका साथ सम्पन्न भएको संस्थाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्