images
images
images

आउँदो डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवसबारे ओशो तपोवन इन्टरनेशनल कम्युनद्वारा पत्रकार सम्मेलन

images

पूर्वाधार वाच, काठमाडौं।

आउँदो डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवसको सन्दर्भमा ओशो तपोवन इन्टरनेशनल कम्युनद्वारा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

पत्रकार सम्मेलनका क्रममा विश्व ध्यान दिवसको महत्व, टुँडिखेलमा आयोजना हुने विशाल सामूहिक ध्यान कार्यक्रम तथा उक्त दिन सञ्चालन गरिने अन्य गतिविधिहरूबारे विस्तृत जानकारी गराइएको आयोजकले जनाएको छ।

संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा ‘विश्व ध्यान दिवस’ घोषणा गरेको छ। ध्यानका लाभ उजागर गर्दै मानसिक, शारीरिक तथा सामाजिक कल्याणका लागि यसको अभ्यासलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो दिवस मनाइनेछ। डिसेम्बर ७, २०२४ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

नेपाल, भारत, लिक्टेनस्टाइन, श्रीलंका, मेक्सिको र एन्डोरा लगायतका देशहरूको सक्रिय समर्थनमा प्रस्ताव पारित भएको हो। यस ऐतिहासिक निर्णयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र–नेपालका संस्थापक तथा संयोजक स्वामी आनन्द अरुणको दीर्घकालीन पहल निर्णायक बनेको बताइएको छ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले वर्षौंदेखि ध्यानलाई विश्वव्यापी मान्यता दिलाउन निरन्तर प्रयास गर्दै आउनुभएको थियो। उहाँले नेपाली सरकार, अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्र संघमा ध्यान दिवसको आवश्यकता र महत्वबारे लेख, व्याख्यान तथा प्रत्यक्ष भेटघाटमार्फत आवाज उठाउँदै आउनुभएको थियो।

स्वामी अरुणले सुरुमा अन्तर्राष्ट्रिय ध्यान दिवस तत्काल सम्भव नदेखिएपछि पहिले राष्ट्रिय ध्यान दिवस घोषणा गरी नेपालले नेतृत्व लिनुपर्ने सुझाव विभिन्न सरकार प्रमुखहरूसमक्ष राख्दै आउनुभएको थियो। त्यसपछि अन्य बौद्ध राष्ट्रहरूसँग समन्वय गरी संयुक्त प्रस्तावका रूपमा संयुक्त राष्ट्र संघमा लैजानुपर्ने उहाँको रणनीति रहेको थियो। यसले नेपाललाई विश्व ध्यानको केन्द्रका रूपमा स्थापित गर्ने अवसर सिर्जना हुने उहाँको विश्वास थियो।

उहाँले विगतका सबै प्रधानमन्त्रीहरूसँग प्रत्यक्ष भेट गरी ध्यान दिवसको महत्वबारे लिखित प्रस्ताव र दस्तावेजसमेत बुझाउनुभएको थियो।

अमेरिकाबाट सुरु भएको अन्तर्राष्ट्रिय मान्यता

२०१९ मा अमेरिकाको भर्जिनिया राज्य भ्रमणका क्रममा स्वामी अरुणको प्रयासलाई त्यहाँको राज्य सरकारले मान्यता दिएको थियो। फेब्रुअरी १६, २०१९ मा भर्जिनिया राज्यले ध्यान समुदायमा उहाँको योगदानको कदर गर्दै एप्रिल ३० लाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रूपमा मनाउने घोषणा पारित गरेको थियो। यो प्रस्ताव भर्जिनिया राज्यका सिनेटर जेनिफर बोयस्को, हाउस डेलिगेट जोन बेल तथा लाउडन काउन्टी अध्यक्ष फिलिस र्यान्डलको समर्थनमा पारित भएको थियो।

यसलाई हाउस रेजोलुसन #४४३ का रूपमा दर्ता गरिएको थियो, जसले अमेरिकी सञ्चारमाध्यमको व्यापक ध्यान आकर्षित गरेको थियो। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूले पनि यस पहललाई समर्थन गरेका थिए।

संयुक्त राष्ट्र संघसम्म निरन्तर पहल

स्वामी आनन्द अरुणले यो प्रस्ताव नेपाल सरकारमार्फत संयुक्त राष्ट्र संघमा लैजान निरन्तर पहल गर्नुभयो। गृह, शिक्षा तथा परराष्ट्र मन्त्रालयसँग भएका छलफलमा ध्यान दिवसको विश्वव्यापी महत्वबारे विस्तृत बहस भएको थियो।

फेब्रुअरी १८, २०१९ मा उहाँले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा तत्कालीन मिशन प्रमुख निर्मल राज काफ्लेसँग भेटवार्ता गर्नुभयो। उक्त प्रस्ताव आगामी यूएन बैठकमा अघि बढाइने आश्वासन प्राप्त भएको थियो।

त्यसपछि फेब्रुअरी १९, २०१९ मा न्यूयोर्कस्थित नेपाली दूतावासमा आयोजित व्याख्यान कार्यक्रममा स्वामी अरुणले ध्यान र बुद्ध शिक्षाको समसामयिक महत्वबारे धारणा राख्नुभयो। कार्यक्रममा श्रीलंका र म्यानमारसहित विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो, जसले प्रस्तावलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

२०२४ मा निर्णायक मोड

अक्टोबर २१, २०२४ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा आएका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी अरुणको विश्व ध्यान दिवस प्रस्ताव महासचिवसमक्ष प्रस्तुत गर्नुभयो। महासचिव गुटेरेसले यस विचारलाई समयसापेक्ष भन्दै सकारात्मक प्रतिक्रिया जनाएका थिए।

यसपछि नोभेम्बर २९, २०२४ मा नेपालसहित एन्डोरा, बंगलादेश, भारत, मेक्सिको, लिक्टेनस्टाइन, श्रीलंका लगायत १८ देशले संयुक्त राष्ट्र संघको साधारण सभामा संकल्प प्रस्ताव पेश गरे। अन्ततः डिसेम्बर ७, २०२४ मा उक्त प्रस्ताव पारित भई डिसेम्बर २१ ‘विश्व ध्यान दिवस’घोषणा गरियो।

विश्व ध्यान दिवसको घोषणा हुनु नेपाली पहल र निरन्तर कूटनीतिक प्रयासको प्रतिफल भएको उल्लेख गर्दै, यस उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उचाइमा पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्