पूर्वाधार वाच, काठमाडौं।
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा विभिन्न एकाइगत रूपमा सम्पन्न भएको छ। संस्था सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा २०८२ साल मङ्सिर २७, पौष ५ र १० गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना गरिएको हो।
संस्थाले प्रकाशित गरेको सूचना अनुसार एकाइगत साधारण सभा क्रमशः काठमाडौं महानगरपालिका तथा आसपासका क्षेत्र, भक्तपुर–ललितपुर जिल्ला अन्तर्गतका सदस्यहरू र काठमाडौं महानगरका अन्य वडाका सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो।

सञ्चालक समितिको प्रतिवेदन पारित
साधारण सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत गरिएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल भई पारित गरिएको छ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।
बचत संकलन र तरलता व्यवस्थापनमा सुधार
लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल बचत अघिल्लो वर्षको तुलनामा केही घटे पनि तरलता अनुपात सन्तोषजनक अवस्थामा कायम रहेको उल्लेख गरिएको छ। संस्थाले जोखिम न्यूनिकरणका लागि तरलता व्यवस्थापन, कर्जा प्रवाहमा सतर्कता र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिएको प्रतिवेदनमा जनाइएको छ।
कर्जा तथा लगानी व्यवस्थापन
प्रतिवेदनअनुसार संस्थाको कर्जा तथा सापट प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिए पनि कर्जा जोखिम व्यवस्थापनतर्फ विशेष ध्यान दिइएको छ। कर्जा असुली प्रक्रिया प्रभावकारी बन्दै गएको र सदस्यहरूको किस्ता तथा ब्याज भुक्तानीमा सुधार आएको उल्लेख गरिएको छ।
संस्थाले कृषि, साना व्यवसाय तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकता दिएको जनाएको छ। साथै, नियामक निकायको निर्देशनअनुसार कर्जा जोखिम कोष तथा आवश्यक प्रावधानहरू कायम गरिएको छ।
आम्दानी–खर्चमा अनुशासन
आर्थिक वर्ष २०८१/८२ मा संस्थाको ब्याज आम्दानीमा केही कमी आए पनि प्रशासनिक खर्च नियन्त्रणमा राख्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा कटौती गरी वित्तीय अनुशासन कायम गरिएको जनाइएको छ।
नीति, विनियम र आन्तरिक प्रणाली सुदृढ
साधारण सभाले संस्थाको विनियम तथा आन्तरिक नीति–कार्यविधिमा आवश्यक संशोधन पारित गरेको छ। साथै, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृतको भत्ता, सेवा सुविधा र पारिश्रमिकसम्बन्धी प्रस्तावहरू पनि स्वीकृत भएका छन्।
आगामी कार्यदिशा
संस्थाले आगामी दिनमा बचत संकलन वृद्धि, कर्जा जोखिम न्यूनीकरण, सदस्य सेवा विस्तार तथा डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ। सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्थालाई अझ सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
साधारण सभाको अन्त्यमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्