पूर्वाधार वाच, काठमाडौं।
बालकोट मल्टिपर्पस इन्भेष्टमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्न पुस १९ गते आयोजना गरिएको वार्षिक साधारण सभा नाभा रिसोर्ट बुढानिलकण्ठमा सम्पन्न भएको छ।
कम्पनीको उक्त साधारण सभामा अध्यक्ष बिष्णु बुढाथोकीले अध्यक्षता गर्नुभएको थियो। सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा नाफा–नोक्सान विवरणमाथि विस्तृत छलफल गर्दै अनुमोदन गरिएको छ। साथै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटसमेत सर्वसम्मत रूपमा पारित गरिएको छ।

सभामा कम्पनीको वित्तीय अवस्था, स्रोतसाधनको अधिकतम उपयोग, खर्च व्यवस्थापन तथा भविष्यमा कम्पनीलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो। कम्पनीले विगतका चुनौतीपूर्ण अवस्थाका बाबजुद आयआर्जनका गतिविधि निरन्तर अघि बढाएको जानकारी गराइएको छ।
साधारण सभामा कम्पनीको विगतमा उठेको कानुनी विवाद, शेयरधनीसँग सम्बन्धित विषय तथा उच्च अदालत पाटन, ललितपुरमा विचाराधीन मुद्दाको अवस्थाबारे जानकारी दिइएको थियो। अदालतको अन्तिम फैसला नआएसम्म कम्पनीलाई यथावत् रूपमा सञ्चालन गर्ने निर्णय कायम रहेको जानकारी पनि सभामा गराइएको छ।
सभाले कम्पनीको पुँजी संरचनामा परिवर्तन गर्ने वा यथास्थितिमा सञ्चालन गर्ने, शेयरधनीले आफ्नो पूँजी फिर्ता लिई बाहिरिन चाहेमा सहजीकरण गर्ने, माइन्युट प्रमाणित गर्न प्रतिनिधि तोक्ने तथा आवश्यक परेमा सञ्चालक समितिको निर्वाचन गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रदान गरेको छ।
त्यसैगरी, आगामी दिनमा कम्पनीको व्यापार विस्तार, जोखिम व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा आवश्यक उपकरण र स्रोतसाधन व्यवस्थापनका विषयमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अधिकार दिइएको छ।
सभाको अन्त्यमा अध्यक्ष बुढाथोकीले शेयरधनी, कर्मचारी तथा सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीलाई पारदर्शी, उत्तरदायी र व्यावसायिक रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्