पूर्वाधार वाच, काठमाडौं ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) काठमाडौंको गोल्फुटारस्थित शुभ इभेन्ट्समा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा आयोजना गरिएको हो।
वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन
सभामा अध्यक्ष केडियाले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
नगद लाभांश वितरण प्रस्ताव पारित
साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार विद्यमान चुक्ता पुँजीको १०.१७८० प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय स्वीकृत गरेको छ। यससँगै चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।
व्यवस्थापन पक्षको प्रगति विवरण
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन सुदृढीकरण, प्रणालीगत सुधार, ग्राहकमुखी सेवा विस्तार र अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रममार्फत कम्पनीले बीमा बजारमा आफ्नो उपस्थिति बलियो बनाएको जानकारी गराए। उनका अनुसार शाखा सञ्जाल विस्तार र सूचना प्रविधिको प्रभावकारी प्रयोगले सेवा प्रवाहलाई थप सक्षम बनाएको छ।
मर्जरपछिको अवस्था र भावी दिशा
सीईओ पाण्डेले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै खर्च नियन्त्रण, कर्मचारीको मनोबल अभिवृद्धि तथा बीमितको विश्वास र अभिकर्ताको सक्रिय सहयोगका कारण कम्पनीको समग्र कार्यसम्पादन क्रमशः मजबुत बन्दै गएको उल्लेख गरे। उनले मर्जरपछिका चुनौतीहरूलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्दै कम्पनीलाई दीर्घकालीन रूपमा सबल र सक्षम संस्थाका रूपमा अघि बढाइएको पनि बताए।
कम्पनीको पृष्ठभूमि
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जीवन बीमा क्षेत्रमा कार्यरत एक अग्रणी बीमा कम्पनी हो, जुन सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीचको मर्जरपछि सञ्चालनमा आएको हो। कम्पनीले देशभर जीवन बीमाका विविध सेवा तथा योजनामार्फत बीमितको वित्तीय सुरक्षा र दीर्घकालीन जोखिम व्यवस्थापनमा योगदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्