images
images
images

उच्च तरलता, सुस्त कर्जा : बैंकहरूले फेरि घटाए ब्याजदर

images

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। बैंकिङ प्रणालीमा उच्च तरलता रहँदै आएको र कर्जा प्रवाह सुस्त भएकाले ब्याजदर निरन्तर घट्ने क्रममा रहेको हो। वाणिज्य बैंकहरूले प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर पुसको तुलनामा माघमा औसत ०.१४९५ प्रतिशत विन्दुले घटेको छ। पुसमा औसत ४.८३४ प्रतिशत रहेको अधिकतम ब्याजदर माघमा घटेर ४.६८४५ प्रतिशतमा झरेको छ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत खाता तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा समेत दबाब पर्छ। निक्षेपको ब्याजदर घटेसँगै आधार दर कम हुने र त्यसको प्रभावस्वरूप कर्जाको ब्याजदर पनि स्वतः घट्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत तोकिएको छ। उक्त ब्याजदर ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च रूपमा कायम गरेको हो।

पुसको तुलनामा माघमा ११ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ बैंकले यथावत राखेका छन्। एक बैंकले भने सामान्य वृद्धि गरेको छ। अधिकांश बैंकले ब्याजदर घटाएकै कारण औसत ब्याजदरमा गिरावट आएको हो।

ब्याजदर घटाउने बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक रहेका छन्।

त्यसैगरी नेपाल बैंक, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले ब्याजदर स्थिर राखेका छन्। प्राइम कमर्सियल बैंकले भने केही वृद्धि गरेको छ।

बैंकहरूले सामान्यतया छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि तुलनात्मक रूपमा केही बढी ब्याजदर प्रस्ताव गर्दै आएका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा ब्याजदर घट्दो क्रममा रहेको छ।

यसैबीच नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन तथा अन्तरबैंक ब्याजदर सन्तुलनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा (SDF) लगायतका मौद्रिक उपकरण प्रयोग गर्दै बैंकहरूबाट तरलता खिच्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्