images
images
images

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव समारोह सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री खनालले बैंकले ऋणीको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने, ऋणीहरूको प्रोफाइलिङलाई प्रभावकारी बनाउनुपर्ने तथा नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कर्जा प्रवाहमा क्रेडिट स्कोरमा आधारित प्रणाली आवश्यक

अर्थमन्त्री खनालले कर्जा लगानी गर्दा धितोमा आधारित प्रणालीभन्दा पनि क्रेडिट स्कोरमा आधारित व्यवस्था अपनाउन सके उद्यमशीलता, आयआर्जन र ऋण तिर्न सक्ने क्षमतामा आधारित वित्तीय प्रणाली विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नयाँ शाखा, स्मारिका र फोन लोनको शुभारम्भ

सो अवसरमा अर्थमन्त्री खनालले बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेषाङ्क ‘स्मारिका उपहार २०८२’ विमोचन गर्नुभयो ।

यसैगरी चालू वर्ष बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयहरू डिजिटल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रमकै क्रममा बैंकको नयाँ उत्पादन ‘आरबिबि फोन लोन’ को पनि शुभारम्भ गरिएको थियो ।

दीर्घ सेवा कर्मचारीलाई सम्मान

समारोहमा बैंकमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो ।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहमा जोड

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवा विस्तार गरिँदै आएको जानकारी गराउनुभयो ।

उहाँले बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह गरिरहेको उल्लेख गर्नुभयो ।

डिजिटल बैंकिङमा अग्रसर राष्ट्रिय वाणिज्य बैंक

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउनुभयो ।

युवा पुस्ताको भावना र आवश्यकता बुझेर मुलुक तथा जनताको हितमा केन्द्रित बैंकिङ सेवा प्रवाह गर्नु बैंकको प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले प्रविधिमैत्री बैंकिङ सेवामा जोड दिँदै डिजिटल बैंकिङलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो ।

डिजिटल कारोबारमा राष्ट्रिय सम्मान

हालै मात्र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंक र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई सम्मानित गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कर्मचारी संगठनहरूको सहभागिता

मूल समारोहमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रविन्द्रप्रसाद चौलागाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष सुदिन केसी तथा राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

विविध सामाजिक कार्यक्रम सम्पन्न

वार्षिकोत्सवकै अवसरमा बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूको आयोजनामा रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रमसमेत सम्पन्न गरिएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्