काठमाडौं । त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले रक्तदान कार्यक्रम गरेको छ । बिहीबार एक विशेष समारोहबीच रक्तदान अभियान चलाएको हो । समारोहमा लायन्स क्लबका सञ्चालक शम्भू थापाले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएकाले नियमित रूपमा आयोजना गर्दै आएको बताए ।
उनले लायन्स क्लबहरूले सामान्यतया तीन–तीन महिनामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरेको बताए । साथै कहिलेकाहीँ भने छ महिनाको अन्तरालमा पनि कार्यक्रम हुने गरेको बताए ।
उनले भने, ‘प्राय ब्लड दान गर्ने भनेको तीन–तीन महिनामा हो । कहिले तीन महिना हुन्छ कहिले छ महिना हुन्छ, तर हामी यसरी नै क्लबहरु मिलेर आयोजना गर्ने गरेका छौं । यस पटक आलोकनगर क्षेत्रमा लोकल कम्युनिटीका रुपमा नेपाल न्यूज बैंक, एनसीजीएन, नौलो बिहानी, सुनौलो बिहानी, शिल्पा अफिसियल र कम्युनिटीका साथीहरुसँग मिलेर कार्यक्रम गरेका हौं ।’
उनले आलोकनगर क्षेत्रका स्थानीय समुदाय, विभिन्न कार्यालय तथा संस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त स्थानमा लायन्स क्लबको करिब ४७ हजार सदस्यहरूको स्वामित्वमा रहेको जग्गा दुई वर्षअघि खरिद गरिएको र सोही स्थानमा भविष्यमा एमडी ३२५ अन्तर्गतको भवन निर्माण गर्ने योजना रहेको पनि उनले बताए ।
गभर्नर थापाका अनुसार हाल काठमाडौंका विभिन्न अस्पतालहरूमा रगतको अभाव देखिएकाले तत्काल सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका लागि १५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको भए पनि करिब ६२ पिन्ट रगत संकलन भइसकेको उनले जानकारी दिए ।
उनले नेपालमा नेपाल रेडक्रस सोसाइटी जस्तै लायन्स क्लबको आफ्नै रक्तसञ्चार केन्द्र पनि रहेको उल्लेख गर्दै कीर्तिपुरस्थित त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र अत्याधुनिक प्रविधिबाट सञ्चालन भइरहेको बताए । उक्त केन्द्र लायन्स क्लबका सदस्यहरू तथा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनको सहयोगमा स्थापना गरिएको हो ।
थापाले कुनै पनि समुदाय वा संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न चाहेमा त्रिवि लायन्स रक्तसञ्चार केन्द्रलाई जानकारी दिएपछि प्राविधिक टोली स्थलमै पुगेर रगत संकलन गर्ने व्यवस्था रहेको बताए । रक्तदानले बिरामीको जीवन बचाउन मद्दत गर्नुका साथै रक्तदाताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनले बताए ।
मानिसहरूमा रगत दान गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले सामान्य मानसिकताका साथ रक्तदान गर्न आग्रह गरे ।काठमा डौंका अस्पतालहरूमा पछिल्लो समय रगतको अभाव बढ्दै गएको जानकारी दिँदै उनले समुदायस्तरमा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहने योजना रहेको बताए ।
साथै आगामी तीन महिनापछि सोही क्षेत्रमा पुनः रक्तदान शिविर आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले गरेको रक्तदान कार्यक्रमको आयोजकका रुपमा नेपाल न्यूज बैंक समेत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्