पूर्वाधार वाच, काठमाडौं।
नेपाल औषधि व्यवसायी संघ (नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन–एनसीडीए) काठमाडौं जिल्ला शाखाको आयोजनामा बुधबार काठमाडौंमा ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रम सम्पन्न भएको छ । औषधि थोक व्यवसाय क्षेत्रका व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई व्यवसायका चुनौती, अवसर र भावी रणनीतिबारे साझा धारणा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले औषधि व्यवसाय केवल व्यापारिक गतिविधि नभई जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित जिम्मेवार क्षेत्र भएको बताए । उनले व्यवसायिक सुशासन, पारदर्शिता, गुणस्तरीय सेवा तथा व्यवसायीबीचको एकतालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । बदलिँदो बजार अवस्था र नीतिगत परिवेशअनुसार व्यवसायलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कम्पनी प्रमाणीकरण, शोधभर्ना तथा क्षतिपूर्ति नियमावली, व्यवसायिक सम्झौता प्रणाली, वित्तीय तथा क्रेडिट व्यवस्थापन, नियामकीय जटिलता, बजार प्रतिस्पर्धा तथा औषधि वितरण प्रणालीको वर्तमान अवस्थालगायत विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा सामना गरिरहेका समस्याहरू प्रस्तुत गर्दै औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
भेलाका क्रममा व्यवसायीहरूको लिखित तथा मौखिक सुझाव संकलन गर्न सर्वेक्षणसमेत सञ्चालन गरिएको थियो । खुला संवाद सत्रमा प्राप्त सुझाव तथा धारणालाई आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय, नीतिगत पैरवी र व्यवसायिक हित संरक्षणका लागि आधार सामग्रीका रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ । सहभागीहरूले यस्ता कार्यक्रमले व्यवसायीहरूको साझा आवाजलाई संस्थागत रूपमा उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

डिजिटल रूपान्तरणमा जोड
कार्यक्रममा फेवा टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन भुषालले डिजिटल रूपान्तरण र प्रविधिमैत्री व्यवसायिक अभ्यासबारे प्रस्तुति दिएका थिए । उनले वेब–आधारित प्लेटफर्म तथा मोबाइल एपमार्फत औषधि व्यवसायलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउन सकिने बताए । आपूर्ति व्यवस्थापन, अभिलेख संरक्षण, डेटा विश्लेषण तथा निर्णय प्रक्रियामा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उनको भनाइ थियो ।
व्यवसायिक सुशासन र नीतिगत सुधारमा संघको प्राथमिकता
वि.सं. २०३० मा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका औषधि आयातकर्ता, थोक तथा खुद्रा व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था हो । सुरक्षित, गुणस्तरीय तथा सर्वसुलभ औषधि आपूर्तिको सुनिश्चितताका लागि क्रियाशील संघले पछिल्ला वर्षहरूमा व्यवसायिक सुशासन, क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बुधबार सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रमलाई थोक औषधि व्यवसाय क्षेत्रको दिगो विकास, व्यवसायिक एकता तथा प्रविधिमुखी रूपान्तरणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्