images
images
images

नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको विशेष महाधिवेशन सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको विशेष महाधिवेशन तथा सम्मान कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय प्रतिनिधिसभाका सांसद धर्मेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

विशेष महाधिवेशनमा हेभी इक्वीपमेन्ट चालक तथा अपरेटरले पूर्वाधार विकासमा पुर्‍याउँदै आएको योगदान, उनीहरूले भोग्दै आएका पेशागत समस्या तथा अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा उत्कृष्ट जिल्ला तथा प्रदेश संघ, चालक, आजीवन सदस्य र पूर्वअध्यक्षलगायतलाई सम्मानसमेत गरिएको थियो ।

सन्तोष श्रेष्ठको नेतृत्वमा हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ (बाग्मती), प्रथम उपाध्यक्षमा प्रेमबहादुर थापा (गण्डकी), वरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी (कर्णाली), महिला उपाध्यक्षमा अस्मिता परियार (बाग्मती), महासचिवमा नवीन आले मगर (सुदूरपश्चिम), कोषाध्यक्षमा शिव न्यौपाने (लुम्बिनी) र उपमहासचिवमा किशोर गौतम (गण्डकी) सर्वसम्मत चयन भएका छन्।

६३ जिल्लामा विस्तार भएको संघ

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले आफू विगत एक दशकदेखि श्रमिक आन्दोलनमा सक्रिय रहेको बताए । एउटा जिल्लाबाट सुरु भएको संघ अहिले ६३ जिल्लासम्म विस्तार भएको उल्लेख गर्दै उनले हेभी इक्वीपमेन्ट चालक तथा अपरेटरलाई एउटै संगठनात्मक छातामुनि ल्याएर पेशागत हकहितका विषयमा आवाज उठाउने उद्देश्य रहेको बताए ।

उनले हेभी इक्वीपमेन्ट चालकहरू देशको पूर्वाधार विकासका महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै उनीहरूको योगदानलाई राज्यले उचित रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।

श्रेष्ठका अनुसार कार्यसमितिका केही सदस्य वैदेशिक रोजगारीमा गएपछि विशेष महाधिवेशन आयोजना गर्नुपरेको हो । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।

उत्कृष्ट जिल्ला तथा प्रदेश संघ र सदस्य सम्मानित

विशेष महाधिवेशनका अवसरमा सातै प्रदेशअन्तर्गतका उत्कृष्ट जिल्ला संघ, उत्कृष्ट प्रदेश संघ, चालक, आजीवन सदस्य तथा पूर्वअध्यक्षलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेश संघका रूपमा सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघले संगठन विस्तार र श्रमिकको पेशागत हकहितमा योगदान पुर्‍याउने सदस्य तथा संरचनालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

समस्याको लिखित विवरण दिन सांसद गजुरेलको आग्रह

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले व्यवसायी तथा अपरेटरका समस्या पहिचान गरी उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले समस्यामा परेका व्यवसायी तथा अपरेटरलाई केवल सहानुभूति नभई कानुनी दायराभित्र रहेर आवश्यक सहयोग गर्नुपर्ने बताए । समस्या समाधानका लागि संघले सम्बन्धित विषयको लिखित सुझाव तथा विवरण उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

देशलाई अघि बढाउने क्रममा विगतका कमजोरी सुधार गर्दै अघि बढ्नु वर्तमान सरकारको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

अपरेटरलाई विशेष सुविधा र प्रोत्साहन आवश्यक

विशेष अतिथि सांसद धर्मेन्द्र कार्कीले आफू पनि लामो समयदेखि यातायात व्यवसायसँग जोडिएको भन्दै हेभी इक्वीपमेन्ट अपरेटर तथा व्यवसायीका समस्या आफूलाई जानकारी रहेको बताए ।

उनले विगतका सरकारमा देखिएको लामो भाषण गर्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए । भौतिक पूर्वाधार विकासका महत्वपूर्ण संवाहकका रूपमा रहेका हेभी इक्वीपमेन्ट अपरेटरलाई विशेष प्रोत्साहन र सुविधा उपलब्ध गराउन आवश्यक रहेको भन्दै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

जोखिमपूर्ण कामको उचित मूल्यांकन हुनुपर्ने

संविधानसभा सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) का अध्यक्ष विनोद श्रेष्ठले हेभी इक्वीपमेन्ट अपरेटरले वहन गर्दै आएको जोखिमको उचित मूल्यांकन हुन नसकेको बताए ।

उनले अपरेटरलाई प्राविधिक सीप, जिम्मेवारी र जोखिम बोकेको विकासको साझेदारका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए । श्रम सम्बन्ध न्यायपूर्ण बनाउनुपर्ने भन्दै मालिकलाई मन नपरेकै आधारमा श्रमिकलाई हटाउने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।

श्रेष्ठले अपरेटरले समयमै उचित पारिश्रमिक पाउने व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षाको सुनिश्चितता तथा प्रविधिमा भइरहेको परिवर्तनअनुसार अपरेटरको सीप अद्यावधिक गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।

नियुक्तिपत्र, पारिश्रमिक र सुरक्षाको ग्यारेन्टी माग

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले पूर्वाधार निर्माण तथा यातायात क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हेभी इक्वीपमेन्ट अपरेटरको कामलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

उनले अपरेटरको रोजगारीको स्थायित्व, नियुक्तिपत्र, उचित पारिश्रमिक तथा कार्यस्थल सुरक्षाको व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

वातावरण संरक्षणसँगै पूर्वाधार विकासमा जोड

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले पूर्वाधार विकास दिगो र वातावरणमैत्री हुनुपर्ने धारणा राखे । विकास निर्माणका क्रममा पहाड, नदी तथा प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

उनले पूर्वाधार निर्माणमा हेभी इक्वीपमेन्ट अपरेटरको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूको योगदानलाई राज्य तथा समाजले उचित रूपमा स्वीकार गर्नुपर्ने बताए ।

श्रमसम्बन्धी कानुन व्यवहारमै कार्यान्वयन गर्न माग

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले लामो समयदेखि श्रमिक तथा श्रमजीवीका हकहितसँग सम्बन्धित विषय पर्याप्त रूपमा सम्बोधन हुन नसकेको बताए ।

उनले श्रमिकका अधिकार सुनिश्चित गर्न बनेका ट्रेड युनियन तथा श्रमसम्बन्धी कानुनलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन सत्र संघका महासचिव डिबिराज खड्काले सञ्चालन गरेका थिए । विशेष महाधिवेशनले संघको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्